पाकिस्तानको लाहोरस्थित एक इलेक्ट्रोनिक बजारमा आगलागी, दर्जनौं पसलहरू जले

इस्लामावाद । पाकिस्तानको पूर्वी शहर लाहोरको एक प्रसिद्ध इलेक्ट्रोनिक्स बजारमा आगलागी हुँदा दर्जनौँ पसरलहरू जलेका स्थानीय सञ्चारमाध्यम तथा उद्धारकर्मीहरूले बताएका छन् ।

रिपोर्टका अनुसार शहरको गुलबर्ग मेन बुलेभार्ड क्षेत्रमा अवस्थित हाफिज सेन्टर नामको बहुमंजिला प्लाजाको दोस्रो तल्लामा आगलागी भएको हो ।

समाचार तयार पार्दासम्ममा उद्धार टोली तथा तथा अग्नि नियन्त्रण अधिकारीहरू घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका थिए ।

उद्धारकर्मीहरूले सञ्चारमाध्यमलाई जनाएअनुसार आगलागी भवनको दोस्रो तल्लाका पसलहरूबाट सुरु भै अन्य तलामा फैलिएको थियो । उक्त तलामा ल्यापटप, मोबाइल फोन र अन्य इलेक्ट्रोनिक सामानहरू राखिएको थियो ।

टोलीले भवनको छानामा सहयोगको लागि याचना गरिरहेका मानिसहरूलाई उद्धार गरिरहेको छ ।

प्राप्त जानकारी अनुसार करीब ६० अग्नि नियन्त्रकले स्थानीयको सहयोगमा उद्धारका लागि खटिरहेका र थप टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ ।

पसलमा विद्युत चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

ल्यापटप र मोबाइल फोनलगायतका इलेक्ट्रोनिक उपकरणहरू जल्दा आगो तीव्रत फैलिएको थियो ।

प्रतिक्रिया