सरकारले कुरा मात्रै होइन काम पनि गरेको छ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुरा मात्रै हाेइन, काम पनि गरेकाे दाबी गरेका छन् । आइतबार भर्चुअल रूपमा भएको झापाको दमक अस्पताल भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्ताे दाबी गरेका हुन् ।

कार्यक्रममा उनले भनेका छन्, – ‘देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ । सरकारले कुरा मात्रै होइन काम पनि गरेको छ । राम्रा कामबाट आत्तिएकाले नकारात्मक कुरा गरेका हुन सक्छन् ।’

यस्तै प्रम ओलीले सरकारले मुलुकमा चौतर्फी विकास गर्न खोजे पनि कोरोनाले केही समस्या ल्याएको पनि बताए ।

हरेक दिन शिलान्यास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश नै विकासको बाटोमा अग्रसर भइरहेको बताएका हुन् । ‘विकासका कामहरू राेकिएका छैनन् । विद्यालयदेखि पूर्वपश्चिम रेलमार्गका काम भइरहेको छ । नयाँ रेल ल्याइसकियो, छिटै सञ्चालनमा ल्याउँछौँ । सुरूङ मार्ग काम भइरहेको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले कुनै पनि राजनीतिक दलले विकासमा अवरोध गर्ने तथा निर्माणका काम हुन नदिने जस्ता संकीर्णता देखाउन नहुने पनि बताए ।

प्रतिक्रिया