जनार्दन शर्मा भन्छन्- दशैं भत्ताबाट भेन्टिलेटर किनाैँ

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का स्थायी कमिटी सदस्य एवम् सांसद जनार्दन शर्माले काेराेना भाइरस (काेभिड १९) काे महामारीकाे याे समयमा सांसदकाे दशैं भत्ताबाट भेन्टिलेटर किन्नुपर्ने बताएका छन् ।

नेपालमा पछिल्लाे समय काेराेना संक्रमितकाे संख्या तीव्र रूपमा बढिरहेकाे छ । भेन्टिलेटर अभावका कारण कति संक्रमित बिरामीहरूले ज्यान गुमाएकाे घटनाहरू सार्वजनिक भइरहेकाे याे अवस्थामा जनार्दन शर्माले साे प्रस्ताव गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं । भत्ता स्वरूप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’

यस्तै सुदूरपश्चिमका नेता तथा सांसद भीम रावलले पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।आफ्नो खातामा दशैंको भत्ता हालिदिएको थाहा दिएका नेता रावलले भनेका छन्, ‘हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् ।’

प्रतिक्रिया