ललितानिवास जग्गा प्रकरण: विजयकुमार गच्छदारको सबै सम्पत्ति रोक्का

काठमाडौं । कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बालुवाटारको ललितानिवास जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका उप सभापति गच्छदारको सबै सम्पत्ति रोक्का गरेको हो ।

गच्छदार र परिवारको नाममा रहेको बैंक खाता, घरजग्गा, शेयर, गाडीलगायतका सम्पत्ति कारोबार तथा हक हस्तान्तरण गर्न रोक लगाइएको छ । विभाग स्रोतले बताएअनुसार सम्पत्तिको वैधता नदेखिएपछि गच्छदार, उनकी श्रीमती निर्मला गच्छदार र दुई छोराको नाममा भएको सबै सम्पत्ति रोक्का गरिएको हो । ‘प्रारम्भिक अनुसन्धानमा सम्पत्तिको वैधता देखिएको छैन,’ स्रोतले भन्यो- ‘अन्य व्यक्तिको नाममा लुकाएको सूचना प्राप्त भएकोले त्यसमा अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ ।’

गच्छदारको नाममा स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंकमा खाता भेटिएको छ भने एक सहकारीमासमेत खाता खोलेर पैसा जम्मा गरेको भेटिएको छ । विभागले गच्छदारकी श्रीमती निर्मला गच्छदारको नाममा रहेको राष्ट्रिय वाणिज्य वैंक-विराटनगर, नेपाल बंगलादेश बैंक लिमिटेड-काठमाडौ, सिन्सियर सेभिङ को-अपरेटिभमा खाता भेटेपछि ती सबै बैंक खाता रोक्का राखेको हो ।

बैंक खातामा कति पैसा भेटियो भन्ने विवरण खुलाइएको छैन । सुनसरी जिल्लाको तत्कालीन भालुवा गाविसमा २ कठ्ठा ७ धुर क्षेत्रफल जग्गा र एक पक्की घर विजयकुमार गच्छदारकै नाममा रहेको छ भने मोरङ्गको विराटनगर महानगरपालिकामा १७ कठ्ठा २ धुर जग्गा र पक्की घर । श्रीमती निर्मला गच्छदारको नाममा रहेको भेटिएको हो ।

यस्तै सुनसरीको तत्कालीन भालुवा, सिमरिया, तनमुना गा.वि.स. मा ७ विगाहा १४ कठ्ठा ६ धुर जग्गा फेला परेको छ । श्रीमतीको नाममा विराटनगर महानगरपालिकामैं थप १७ कठ्ठा अर्को जग्गा भेटिएको छ । छोरा सुभाष गच्छदारको नाममा ललितपुरका बुङ्मतीमा १३ रोपनी क्षेत्रफलको जग्गा र घर भेटिएको छ ।

गच्छदारले विभागसँगको बयानमा ललितपुर, बुङमतीको १३ रोपनी जग्गा छोरा सुभाषले खरिद गरेको दावी गरेका छन् । यस्तै त्यहाँ निर्मित घरको लागत मूल्य भने छोरा सुभाषको कमाई र आफ्नो विभिन्न समयमा मन्त्री, सांसद हुँदा प्राप्त पारिश्रमिकबाट बनाएको दावी गरेका छन् ।

उनीविरुद्ध ललितानिवासको सरकारी जग्गा हिनामिनामा प्रमुख भूमिका खेलेको ठहर गर्दै अख्तियारले ९ करोड ६५ लाख बिगो कायम गरी गत माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको करिव ९ महिना हुँदासम्म गच्छदार अदालत उपस्थित भएका छैनन् ।

प्रतिक्रिया