विराटनगरमा प्रि-कोभिड अस्पताल सञ्चालनको तयारी

काठमाडौं । विराटनगरमा एकसय बेड क्षमताको प्रिकोभिड १९ अस्पताल संचालन गर्ने विषयमा निजीस्तरमा छलफल शुरु भएको छ । संक्रमितहरु आईसीयू र भेन्टिलेटरसम्म पुग्न नपरोस् भन्ने उद्देश्यसाथ अस्पताल संचालनका लागि पहल गरिएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको पहलमा निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकारवालासँग छलफल शुरु भएको छ । शनिबार आयोजित भर्चुअल छलफलमा सहभागी चिकित्सक, राजनीतिकर्मी तथा व्यवसायीले अस्पताल सञ्चालन गर्ने विषयमा आफूहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाका अनुसार आईसीयू र भेन्टिलेटरमा बढ्दै गएको चाप अस्पतालहरुले थेग्नै नसक्ने अवस्थामा पुगेकोले विराटनगरमा अक्सिजन चाहिने बिरामीलाई सेवा दिने गरी छलफल शुरु गरिएको हो । ‘विराटनगरमा एकसय बेडको कोभिडका लक्ष्यण भएका बिरामीलाई प्रिकोभिड अस्पताल संचालन गर्न सकिन्छ,’ उनले भने– ‘सरकारलाई सहयोग पुगोस भनेरै हामीले यस्तो पहल लिएका हौं ।’

अहिले विराटनगरमा हरेक दिन अस्पतालमा आईसीयूमा बेडको माग हन थालेको तर बिरामीले अस्पतालको गेटबाटै फर्कनुपर्ने अवस्था आएको सहभागीको भनाइ थियो । काठमाडौंमासमेत अस्पतालमा बेड आउन निक्कै कठिनाइ हुने गरेको चिकित्सा विज्ञान प्रतिष्ठानका पूर्वडिन डा। जगदीश अग्रवालले बताए । आसीयू र भेन्टिलेटरसम्म पुग्न नदिन प्रिहस्पिटलको अवधारणा उचित हुने उनको भनाई छ ।

अस्पतालको व्यवस्थापन स्थानीय सरकारले गर्न सक्ने र यसको पहिलो सेटअपको लागि ५० लाखसम्म खर्च हुनसक्ने अनुमान छ । साथै चिकित्सकलगायत व्यवस्थापनको लागि मासिक १५ लाख रुपैयाँसम्म खर्च हुनसक्ने बताइएको छ । चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा।लोचन कार्कीले भएकै पूर्वाधारलाई प्रयोग गरेर अस्पताल संचालन गर्न सकिने र भएकै संरचनालाई अस्पतालमा परिणत गर्दा खर्च बचाउन सकिने धारणा राखे ।

नेपाली कांग्रेस १ नम्बर प्रदेशका प्रमुख सचेतक केदार कार्कीले समय घर्कदै गएकोले अब ढिलाई गर्न नहुने बताए । कांग्रेस सचेतक सूयर्माराज राईले कोभिडले प्रदेश १ मा संक्रमितको संख्या थपिदैं जाँदा अवस्था भयावह हुँदै गएको बताए ।

उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य महेश जाजूले विराटनगरमा प्रिअस्पताल संचालन गर्न निजी क्षेत्रको सहयोग संधै रहने बताए । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारको कमजोरीका कारण धेरै मानिसले उपचार प्राप्त गर्न नसकेको जस्तो देखिएको धारणा राखे ।

कार्यक्रममा उद्योगी सुशील धनावत, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यपार संघका अध्यक्ष सुजन थापा तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली प्रिकोभिड अस्पताल आवश्यक रहेकोमा जाड् दिँदै अस्पताल सञ्चालनमा आफ्नो सहयोग रहने बताए ।

प्रतिक्रिया