शिलालेखमा नाम नराखेको भन्दै उपमेयरले ढुङ्गा बजार्नथालेपछि…

कैलाली । शिलालेखमा आफ्नो नाम नराखेको भन्दै उद्घाटनकै क्रममा उपमेयरले ढुङ्गा बजारेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–७ को वडा कार्यालय भवन हस्तान्तरण कार्यक्रममा मेयर ममताप्रसाद चौधरीले शिलालेखबाट रातो पर्दा हटाउँदै भवन उद्घाटन गर्ने तयारी गर्दै गरिरहँदा उपमेयर प्रेम कुमारी थापाले शिलालेखमा ढुङ्गा बजार्दै ढुङ्गा बजार्न थालिन् ।

मेयर चौधरीले सम्झाउन खोज्दा झन् आक्रोशित हुँदै उफ्रिँदै आफ्नो मर्यादा कसले राख्ने भन्दै मुर्दावादको नारा लगाएकी छन् । आक्रोशित बनेकी उपमेयर थापाले शिलालेखमा थुकेकी छन्।

उपमेयर थापाले भवनको शिलालेखमा मेयरको नाम समावेश भएको तर आफ्नो नाम समावेश नभएको भन्दै शिलालेखमा ढुङ्गा प्रहार गरेकी हुन्। उनले आफ्नो नाम नराखिनुमा घोर आपत्ति जनाएकी छन् ।

उनले महिला भनेर अपमान गरेको भन्दै मुर्दावादको नारा लगाएकी र शिलालेखमा आफ्नो नाम नसमेटिनुको कारण के भन्दै प्रश्न गरेकी छन् । उनले शिलालेखमा उपमेयरको नाम पनि लेख्नुपर्ने भन्दै शिलालेखलाई निकालेर पुनः राख्न भनेकी छन् ।

शिलालेखमा मेयर र वडाध्यक्षदेखि वडा सदस्यसम्मको नाम राखिएको तर आफू महिला भएकै कारण नाम नराखेकोले विरोध गरेको उनको भनाई छ ।

उपमेयर थापाले आज तीन वडा कार्यालयहरूको भवन उद्घाटन गरेको र कुनै पनि वडा कार्यालयको शिलालेखमा आफ्नो नाम नराखेका कारण विरोध जनाएको बताइन् ।

 

प्रतिक्रिया