‘कोरोना सङ्क्रमितलाई घृणा नगरौँ, यस वर्षको पर्व सुरक्षाका साथ मनाऔँ’ : वरिष्ठ नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले कोरोना भाइरसबाट सुरक्षित रहेर पर्व मनाउन आग्रह गरेका छन् । नेता नेपालले शुभकामना सन्देश दिँदै उक्त आग्रह गरेका हुन् ।

नेता नेपालले कोरोनाको प्रकोपबाट देशको अवस्था भयावह भन्दै गएको बताउँदै त्यसबाट बच्न आवश्यक व्यवस्था मिलाइएको र प्रोटोकलहरूको पालना भइरहेको बताए ।

‘अहिले संसार नै कोरोना भाइरसबाट आक्रान्त छ, हाम्रो देशमा पनि दिनदिनै कोरोना भाइरसको प्रकोप बढ्दो छ, विश्वभर करिब तीन करोड मानिस सङ्क्रमित भइसकेका छन्’ उनले भने ‘काठमाडौँ लगायत देशका विभिन्न ठाउँको अवस्था हेर्ने हो भने अत्यन्तै भयावह स्थिति रहेको छ, हामीले कोरोनाको प्रकोपबाट बच्नका लागि आवश्यक व्यवस्था मिलाइरहेका छौँ । त्यसका प्रोटोकलहरूको पालना गरिरहेका छौँ, त्यसका नियमहरूको पालना गरेका छौँ ।’

उनले यो सन्दर्भमा तीन ओटा विषयमा ध्यान दिनुपर्ने बताएका छन् । उनले भने ‘हामीले विचार पुर्‍याउनुपर्ने कुरा आवश्यक छ, यस सन्दर्भमा ती नओटा कुराहरूमा ध्यान दिनुपर्ने छ । पहिलो कुरा कुनै पनि सार्वजनिक ठाउँमा जाँदा खेरी र घरबाहिर निस्किँदाखेरी र घरभित्रै पनि अरू व्यक्तिहरूसँग भेट गर्दाखेरि मास्कको प्रयोग गर्ने, दोस्रो कुरो साबुन पानीले हात धुने, तेस्रो व्यक्ति व्यक्तिका बीचमा भौतिक दुरी कायम गर्ने ।’

यस्तै उनले कोरोना सङ्क्रमितलाई हेला होचो नगर्न पनि आग्रह गरेका छन् । उनले भने ‘कसैलाई कोरोना सङ्क्रमण भयो भने हेला होचो गर्ने होइन, यो मानवीयताको भावना पनि होइन, नेपाली संस्कार पनि होइन । बरु तिनीहरूप्रति मनमा सहानुभूति हुनु पर्छ । अरूलाई घृणा गर्ने व्यक्ति आफू पनि घृणित हुनुपर्छ भन्ने विचार पुर्‍याउनु पर्दछ । त्यसो हुनाले कसैलाई पनि अपमान नगरौँ । ’

उपचारको लागि अहोरात्र खटिरहेका व्यक्तिहरू, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, ड्राइभरलगायत सबै प्रति विशेषरुपमा ध्यान दिन र सम्मान गर्न उनको आग्रह छ ।

प्रतिक्रिया