दशैँ मान्न चेपाङलाई सपनाको उपहार

  • ध्रुवराज खनाल

चितवन । चितवन इच्छाकामना–१ थाप्राङका ललिमन चेपाङ दशै कसरी मनाउने भन्ने चिन्तामा थिए । अघिल्लो बर्ष बजारबाट किनेर खाद्यान्न ल्याइ दशैँ मनाउँथे ।

दशैँमा मीठो मसिनो खाने चिन्ता अहिले उनमा रहेन । घर गाउँमै कसैले खाद्यान्न ल्याइदेला भन्ने उनले सोचेका पनि थिएनन् । तर गाउँमै खाद्यान्न पाउँदा उनी मात्र होइन इच्छाकामना गाउँपालिका–१ का सबै परिवार खुसी छन् । दशैका लागि यो खुसी थपिदिएको हो सौराहा स्थित सपना भिलेज सोसियल इमप्याक्टले । कोरोनाका कारण समस्या भोगिरहेका यहाँका ६६५ घरधुरीलाई सोसियल इमप्याक्टले दशैको उपहार स्वरूप खाद्यान्न वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, सपना भिलेज सोसियल इमप्याक्टका अध्यक्ष ध्रुव गिरि,वडा अध्यक्ष नन्दुलाल गिरिले खाद्यान्न वितरण गरेका थिए ।

सो वडाको सबै घरधुरीलाई प्रति घर १५ किलो चामल, १ किलो दाल, १ किलो नुन र १ लिटर तेल प्रदान गरिएको सपना भिलेज सोसियल इमप्याक्टका परियोजना अधिकृत सुजन बस्नेत जानकारी दिए ।

दशैँको मुखमा खाद्यान्न पाउँदा खुसी लागेको स्थानीय ललिमन चेपाङको प्रतिक्रिया थियो । प्राप्त खाद्यान्न फूलपाती दिन देखि मात्र उपभोग गर्ने उनले सुनाए । अहिले आफ्नो घरमा चामल छैन चेपाङले भने ‘फूलपाती सम्म मकै कोदोको रोटी खाइन्छ त्यसपछि चामलको भात खाएर दशै मानिन्छ ।’ उनी मात्र होइन खाद्यान्न प्राप्त गर्ने सबैले खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

चितवनको पहाडी भेगमा अन्न उब्जाउ राम्रो नहुने भएकाले यहाँ स्थानीयलाई १२ महिना खाद्यान्नले पुग्दैन । खाद्यान्न नभएको बेला गिठा भ्याकुर खाएर बाच्नु पर्ने उनीहरूको बाध्यता छ ।

सपना भिलेज सोसियल इमप्याक्टले इच्छाकामना १ का जनताको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायत परिवर्तनका लागि परियोजना समेत सञ्चालन गरिरहेको छ ।

खाद्यान्न वितरणका क्रममा गाउँपालिका अध्यक्ष गीता गुरुङले चेपाङ जाती सीमान्तकृत वर्गको भए पनि परिवर्तनका लागि स्वयम् पनि जागरूक हुनु पर्ने बताइन ।

प्रतिक्रिया