दशैंका नौ दिन नौ दुर्गाको पूजा, यस्तो छ शास्त्रीय मान्यता !

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ ।

यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै नौ कन्याको पूजासमेत गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।

नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सबैजसो मन्दिर बन्द छ । शक्तिपीठमा नित्य पूजा भने गरिने जनाइएको छ ।

दशैँघरमा विशेष पूजा
परम्परानुसार काठमाडौँको हनुमानढोका दरबारस्थित दशैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा देवीको पूजाराधना शुरु हुन्छ । शनिबार बिहान चित्रा नक्षत्रको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।

दशैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजाराधना गरिन्छ । यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि भने कोरोनाका कारण स्थगत गरिएको उनले सुनाए ।

रोजगारी, अध्ययन एवं अन्य कामविशेषले आफ्नो घर बाहिर रहेका मानिसहरु दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।

धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् । यस वर्ष भने कोरोनाका कारण लामो समय शिक्षण संस्था बन्द रहेकाले केही दिन अनलाइन कक्षा जारी रहने जनाइएको छ । कोरोनाको सात महिना पूरा भइसक्दा पनि धेरैजसो शैक्षिक संस्थाले अनलाइनबाटै कक्षा चलाइरहेका छन् । केही शैक्षिक संस्था मात्र खुलेका छन् । दशैँका मुख्यदिन मात्र अनलाइन कक्षा चलाएर बाँकी दिन अध्यापन गराउने धेरैजसो स्थानीय तहको तयारी छ ।

आजदेखि नवरात्र शुरु, यस्तो छ घटस्थापनाको शुभ साइत

प्रतिक्रिया