कोरोना कहरबीच यसरी मनाइयो ६५ औं प्रहरी दिवस(फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित विशेष समारोहबीच ६५ औं प्रहरी दिवस २०७७ सम्पन्न भएको छ ।

प्रहरी दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे। साथै प्रधानमन्त्रीकी धर्मपत्नी श्रीमती राधिका शाक्यले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिन् । समारोहमा प्रधानमन्त्री ओलीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मायाको चिनो समेत प्रदान गरेका थिए ।

विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कानूनको पालना तथा कार्यान्वयन, निष्पक्ष अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको चर्चा गर्दै निष्पक्ष छानवीन, अभियोजन र न्याय निरुपणबाट कानूनको पालनाको साथै समाजमा शान्ति स्थापना हुने बताए। साधन स्रोतको सीमितता तथा अभावका बाबजुद पनि देशले सुम्पिएको जिम्मेवारी सधै निष्ठापूर्वक बहन गर्दै आएकोप्रति प्रशंसा गर्दै नेपाल प्रहरीले गरेको काम कारवाहीको नेपाल सरकारबाट उच्च मूल्याङकन भएको उनले बताए ।

मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘यसैका जगमा कानूनी शासन, मानव अधिकारको संरक्षण र सम्बर्धन तथा विकासका आधारहरू निर्धारण हुने गर्दछ । मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोकारूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले मात्र हामीले मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सक्नेछौ ।’ सामाजिक दबाब, विभिन्न प्रभावबाट टाढा रही कानून कार्यान्वयन र दिगो शान्तिका लागि सरोकारवाला सुरक्षा निकायहरु सजग भएर अगाडि बढ्नुपर्ने उनले बताए।

मुलुक रुपान्तरणको चरणमा रहेको र यसको प्रभाव नेपाल प्रहरीमा पनि पर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले परिवर्तनसँगै सेवा, सक्षमता र प्रतिबद्धतामा पनि आमूल सुदृढीकरण र प्रभावकारिताको अपेक्षा आमनागरिकको रहने हुँदा पारदर्शी एवम् जवाफदेही प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव सक्रिय हुनुपर्ने बताए। सुधार र परिवर्तन संगठनभित्रैबाट हुनुपर्ने बताउँदै प्रहरीबाट भएका रचनात्मक कार्यहरु, संस्थागत हित, विकास र कल्याणकारी हितका लागि नेपाल सरकारको सदैव साथ र सहयोग रहने उनले बताए ।

प्रहरी दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कर्तव्यपथमा अग्रसर रहँदा जीवन आहुति दिने वीर, अमर प्रहरीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुको साथै परिवारजनहरुप्रति सम्मान र घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

कार्यक्रममा विशेष अतिथि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले “प्रहरी दर्पण २०७७” को लोकार्पण गरेका थिए । साथै उनले सेवा निवृत्त प्रहरी उपरीक्षक तुलाबहादुर केसीलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ र शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी प्रधान कार्यालय विशेष व्यूरोमा कार्यरत प्रहरी नायव निरीक्षक कृष्ण बहादुर चन्दलाई पूर्ण शान्ति पुरस्कार २०७७ प्रदान गरे।

सोही अवसरमा उनले कर्तव्य पालनाको क्रममा यस वर्ष वीरगति प्राप्त गर्ने ४० जनामध्ये ६ जना अमर प्रहरीका आश्रित परिवारहरुलाई कदरपत्र प्रदान गरे । साथै उनले अच्युत–मिना अक्षयकोषका संस्थापक अध्यक्ष सेवा निवृत्त प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेललाई प्रशंसापत्र प्रदान गरेका थिए।

समारोहमा गृहमन्त्री थापाले राज्यले सुम्पिएको दायित्व निर्वाह गर्ने क्रममा आफ्नो प्राण उत्सर्ग गर्ने अमर तथा वीर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्यपालनका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। कानून प्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आईपर्ने विविध व्यवधान, सीमित स्रोत र साधनका बावजुद नेपाल प्रहरीको कार्य सम्पादन स्तर उच्च रहेको उल्लेख गर्दै यसलाई निरन्तरता दिन गृहमन्त्री थापाले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

कोभिड–१९ भाइरसका कारण लकडाउन र संक्रमणका कारण सिर्जित सुरक्षा चुनौती र मनसुनबाट सिर्जित विपद् व्यवस्थापनमा नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारीको उच्च प्रशंसा गर्दै गृहमन्त्री थापाले संविधानको उपलव्धीलाई संरक्षण गर्न कुनैपनि सम्झौता नगरी अगाडि बढ्नुपर्ने बताए। नेपाल प्रहरी संगठनलाई सुदृढिकरण तथा सुद्धीकरणका लागि प्रहरी नेतृत्वले गरेको रचनात्मक अभ्यास, प्रहरीको रासन सुविधा, कल्याणकारी कार्यक्रमलाई समयानुकूल सुधार गरी प्रहरी कर्मचारीहरुको मनोबल उच्च पार्न गृहमन्त्रालय सदैव तत्पर रहेको बताए।

कार्यक्रममा महान्यायाधिवक्ता, प्रधान सेनापति, गृहसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरु, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे ।

समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यबाद ज्ञापन गर्दै राष्ट्रको समग्र सुरक्षाको प्रश्न सामुहिक जिम्मेवारीको बिषय रहेको र संयुक्त यत्नले नै आम नागरीकहरुको अपेक्षा पूरा गर्न सकिने बताए । प्रहरी आम–जनको प्रहरी हुनुपर्ने प्रहरीको आदर्श रहेको तथा समाजले प्रहरीबाट धेरै अपेक्षा र विश्वास गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘हाम्रो कर्मक्षेत्र पनि समाज र नागरिक सेवा नै हो । यो कर्तव्यबाट नत हामी विमुख हुन नै सक्छौं न समाजले हाम्रो विकल्प नै खोज्न सक्छ । यो अन्ततस् र अटुट सम्बन्धलाई प्रगाढ र विश्वासनीय बनाउनु हाम्रो व्यावसायिक धर्म हो ।’

नेपाल प्रहरीमा पद्दतिको विकास गर्ने कार्यमा प्रहरी प्रधान कार्यालय रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आन्तरिक लिखतको रुपमा ‘नेपाल प्रहरीको कार्य योजना २०७७’ तथा प्रहरीमा स्व अनुशासनका लागि आचार संहिता लागू गरिएको बताए। सहभागितामूलक नेतृत्वलाई संस्थागत गर्ने प्रयास थालिएको र तोकिएका मापदण्डहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइएको समेत उनले बताए।

कार्यक्रममा सेवा निवृत प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल र उनकी धर्मपत्नी स्वर्गीय मिना खरेलको नामबाट ११ लाख रुपैयाँको अक्षयकोष खडा गरी ‘अच्युत(मिना अमर प्रहरी पुरस्कार’ स्थापना गरिएको तथा उक्त पुरस्कार प्रत्येक वर्ष प्रहरी दिवसको दिन प्रदान गर्ने निर्णय गरिएको जानकारी दिइयो ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले यस वर्ष घोषित अमर प्रहरीका परिवारलाई राहत वितरण गरेकी थिइन् ।

६५ औं प्रहरी दिवस २०७७ सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहत समेतमा विविध कार्यक्रमहरुका साथ प्रहरी दिवस मनाइनुका साथै यस वर्ष घोषित ४० जनामध्ये ३४ जना अमर प्रहरीका आश्रित परिवारहरुलाई पायक पर्ने प्रदेश प्रहरी कार्यालयहरुमा कदरपत्र प्रदान गरिएको छ ।

कदरपत्र तथा पुरस्कार वितरण
यस्तै समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६५ औं प्रहरी दिवस २०७७ का अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरु, उत्कृष्ट लेखकहरु, नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्नेहरुलाईलाई कदरपत्र तथा पुरस्कार वितरण गरेका छन्।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक सागर शमशेर जवरालाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरेका हुन् ।

यसैगरी सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव निरीक्षक सुवाष कटुवाल, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे लगायत उत्कृष्ट व्यवस्थापकीय कार्य गर्ने, विपद् व्यवस्थापन, उत्कृष्ट ट्राफिक व्यवस्थापन, उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, सपोर्ट समूहतर्फ, कोभिड(१९ बाट संक्रमितको उपचारमा प्रत्यक्ष रुपमा योगदान गर्नुहुने र अन्य प्रहरी कर्मचारी गरी ३७ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्‍याउने स्थानीय तह अन्तर्गत चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, शैक्षिक संस्थातर्फ पुष्प सदन आवासीय माध्यामिक विद्यालय कीर्तिपुर, संघ संस्थातर्फ ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र ललितपुर, सर्वसाधारण व्यक्तिहरु र पूर्व प्रहरी कर्मचारी समेतलाई कदरपत्र प्रदान गरेका थिए ।

यसैगरी प्रहरी द्वैमासिक पत्रिकामा २०७६ मा प्रकाशित लेख रचनामध्ये व्यावसायिकतर्फ सुदर्शन अधिकारी र साहित्यिक रचनातर्फ प्रहरी निरीक्षक होमबहादुर थापालाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गरिएको छ । साथै उनले नेपाल प्रहरी स्मारक गुठीका आजीवन सदस्यता प्राप्त गर्नुहुने प्रहरी नायव उपरीक्षक लाल बहादुर धामी र काठमाडौं महानगरपालिका–१९ का खेमराज खनाललाई कदरपत्र प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कर्तव्य पालनाको सिलसिलामा जीवन उत्सर्ग गर्ने अमर एवं वीर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सो क्रममा घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रहरीको विकास गर्ने हो भने यसलाई थप व्यावसायिक, प्रविधिमैत्री, जवादेही बनाउनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘हामीले यदि संगठनलाई व्यावसायिक, एकजुट र एकाग्रह बनाउने आँट गर्‍यौं भने त्यसलाई कसैले रोक्न सक्दैन ।’ संगठनको बिकासको लागि साधन र स्रोत आवश्यक हुने उल्लेख गर्दै उनले मानसिक रुपमा आफ्नो जिम्मेवारीतर्फ आँट गरेमा साधन स्रोत बाधकको रुपमा नआउने समेत बताए ।


कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया