गृहमन्त्रीकाे प्रश्न : हाम्रो समाज राम्रोलाई प्रशंसा गर्न किन कन्जुस्याईं गर्छ ?

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल प्रहरीले आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गरिरहेको भन्दै प्रशंसा गरेका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा शुक्रबार हेडक्वाटरमा सम्बोधन गर्दै गृहमन्त्री थापाले नेपाल प्रहरीको प्रशंसा गरेका हुन् ।

उनले कार्यक्रममा भने, ‘नेपाल प्रहरीका सकल दर्जाले जुन निर्भिकता र दृढताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्, त्यो प्रशंसनीय छ । नराम्रोलाई पटक–पटक नराम्रो भन्न नहिचकिचाउने हाम्रो समाज राम्रोलाई प्रशंसा गर्न शब्द खर्च गर्न किन कन्जुस्याई गर्छ ?’

यस्तै मन्त्री थापाले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग गर्ने वातावरणमा बाधा पैदा गर्ने कोशिस गरिरहेको पनि बताए ।

कोरोना संक्रमणको जोखिमकाबीच पनि प्रहरीले खेलेको भूमिकाको उनले प्रशंसा गरे । संगठनप्रति नागरिकको आशाको दियो बचाइराख्न आग्रह गर्दै अपराधको प्रवृति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्न उनले सुझाव समेत दिए ।

प्रतिक्रिया