चर्चित रेस्लर जोन सेनाले इरानी युवतीसँग गरे विवाह

एजेन्सी । विश्वचर्चित रेस्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सेनाले आफ्नी प्रेमिकासँग विवाह गरेका छन् ।

उनले प्रेमिका शाए शरियातजादेहसँग यही अक्टाेबर १२ मा फ्लोरिडामा विवाह गरेका हुन् । उनीहरू केही वर्षदेखि प्रेममा थिए । गत फेब्रुअरीमा उनीहरूले इन्गेज्मेन्ट गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जोन सेनासँग हालै विवाह गरेकी शारियातजादे इरानी मूलकी क्यानेडियन युवती हुन् ।

गत अप्रिलमा मात्रै उनले युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अन्तर्गत इन्जिनियरिङको डिग्री सर्टिफिकेट लिएकी थिइन् । बिवाहबारे जाेनले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् । उनले खुशी व्यक्त गरेका छन् । यद्यपी विवाह समारोहबारे विस्तृतमा जानकारी गराइएको छैन ।

अभिनेता समेत बनेका ४३ वर्षीय जोन सेना यसअघि २००९ देखि २०१२ सम्म एलिजाबेथ हुबर्देउसँग वैवाहिक सम्बन्धमा थिए । र त्यसपछि ६ वर्षसम्म अर्थात् २०१८ सम्म सेलिब्रिटी निकी बेलासँग सम्बन्धमा थिए । डब्ल्यूडब्ल्यूई च्याम्पियन समेत रहेकी निकीको प्रेमका कारण उनले पत्नीसँग सम्बन्ध विच्छेद गरेका हुन् ।

जोन सेनाले २०१७ मा रिङमा नै घुँडा टेकेर बसेर औंठी दिँदै विवाह प्रस्ताव गरेका थिए । तर निकी बेलासँग उनको परम्परागत वैवाहिक सम्बन्ध रहेन । सेना र निकीले इंगेजमेन्ट भने गरेको र सम्बन्ध बिच्छेद पनि भएको बताइन्छ ।

प्रतिक्रिया