कोभिड-१९ भएपछि सुन्ने क्षमता गुम्यो !

काठमाडौं । ब्रिटेनमा कोरोनाभाइरस सङ्क्रमण भएका एक व्यक्तिले आफ्नो श्रवणशक्ति गुमाएका छन् । पैँतालीस वर्षीय ती पुरुषले अब कहिल्यै कान सुन्न नसक्ने चिकित्सकहरूले बताएका छन् ।

कोरोनाभाइरस महामारीसँग सम्बन्ध भएको यस किसिमको समस्या पहिलो पटक आफूहरूले देखेको यूकेका चिकित्सकहरूको भनाइ छ । दुर्लभ भए पनि फ्लू र अन्य भाइरसको सङ्क्रमण हुँदा अकस्मात् श्रवणशक्ति गुम्न सक्छ ।

नाक, कान र घाँटीका विशेषज्ञ चिकित्सकहरूले ‘बीएमजे केस रिपोर्ट्स’ जर्नललाई बताएअनुसार समयमै स्टेरोइडयुक्त औषधि प्रयोग गर्न सकिए बिरामीलाई त्यस्तो क्षतिबाट जोगाउन सकिन्छ ।

रगत र औषधि
दमबाट पनि पीडित ती बिरामीलाई कोभिड-१९ को लक्षण देखिएपछि लन्डनस्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सघन उपचारका लागि सारियो ।

बीबीसीले उल्लेख गरे अनुसार परीक्षणमा कोरोनाभाइरस पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखियो । उनलाई विभिन्न औषधि र रगत दिनुपरेको थियो। स्थितिमा सुधार आएपछि उनलाई ३० दिनपछि भेन्टिलेटरबाट निकालियो । तर त्यसको एक सातापछि सास फेर्न सहज बनाउन जोडिएको ट्यूब निकालेर सघन उपचारकक्षबाट निस्किएपछि उनलाई आफ्नो कान बजेको र देब्रे कान अकस्मात् बन्द भएको थाहा भयो ।

श्रवणशक्ति जाँच्दा कानसँग सम्बन्धित स्नायु, कानको मध्य भाग वा दुवैमा क्षति पुगेको सङ्केत देखियो । चिकित्सकहरूले भर्खर कोभिड-१९ भएकोबाहेक त्यसको कारण पत्ता लगाउन सकेनन् । उनीहरूले ती व्यक्तिलाई स्टेरोइड र कानमा सुई दिए। त्यसबाट केही फाइदा त भयो तर उनले कहिल्यै निको नहुनेगरी श्रवणशक्ति गुमाएका छन् ।

“मानिसहरूमा सबैतिर कोरोनाभाइरस फैलिएको हुँदा र श्रवणशक्ति गुम्ने समस्या देखिएको हुँदा यसबारे थप अनुसन्धान गर्न आवश्यक छ,” यूनिभर्सिटी कलेज लन्डन र रोयल न्याश्नल थ्रोट, नोज, ईअर हस्पिटलका विज्ञहरूको टोलीले भनेको छ । कोरोनाभाइरसले फोक्सोमा हुने एक किसिमको विशेष कोशमा सङ्क्रमण गर्छ । ती कोशमा जस्तै कानको मध्य भागमा हुने कोशमा पनि उही खालको प्रोटीन रिसेप्टर हुन्छ ।

प्रतिक्रिया