गेल र राहुलको अर्धशतकमा पञ्जाबले बैंगलोरलाई हरायो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ । बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

पञ्जाबको आजको खेलमा युनिभर्स बोस क्रिस गेल फर्किएका छन् । गेल पञ्जाबको आठौ खेलमा यस सिजनमा पहिलो खेल खेलेका छन् । आफ्नो पहिलो खेलमा गेलले उत्कृष्ट ब्याटिंग गर्दै पञ्जाबलाई जिताएका छन् । गेलले पञ्जाबका कप्तान केएल राहुलसँग दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । गेलले ४५ बलमा ५३ रन बनाए, जसमा ६ छक्का र एक चौका प्रहार गरेका थिए । गेल अन्तिम ओभरमा रन आउट भएका थिए ।

त्यस्तै कप्तान केएल राहुलले ४९ बलमा ५ छक्का र एक चौका प्रहार गर्दै अविजित ६१ रन बनाए । अन्तिम बलमा जितका लागि एक रन आवश्यक भएकोमा निकोलस पुरनले छक्का प्रहार गरेर खेल जिताएका थिए । यस अघि मयंक अग्रवाल ४५ रन बनाएर आउट भएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १७१ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ४८ रन बनाएका छन् भने शिभम दुबेले २३, एरोन फिन्चले २०, देवदत्त पाडिकलले १८, वाशिंटन सुन्दरले १३, एबी डिभिलीयर्सले २, क्रिस मोरिसले २५ र इसुरु उदानाले १० रन बनाए ।

त्यस्तै किंग्स इलेभेन पञ्जाबका बलर मोहमद सामी र मुरुगन आश्विनले २-२ विकेट लिए भने अर्शदीप सिंह र क्रिस जोर्डनले एक एक विकेट लिएका थिए ।

यो जितसँगै पञ्जाबले ८ खेलमा दोस्रो जित हासिल गरेको छ । पञ्जाबले ६ खेलमा हार बेहोरेको छ । त्यस्तै बैंगलोरको भने ८ खेलमा यो तेस्रो हार हो भने बैंगलोरले ५ खेल जितेको छ । आइपिएल अन्तर्गत शुक्रबार मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच खेल हुनेछ ।

प्रतिक्रिया