मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडियोसहित)

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ११औं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै नियुक्ति गरेका तीन मन्त्रीले बिहीबार (आज) शपथ ग्रहण गरेका हुन् ।

अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री कृष्णगोापाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले आज बिहान शपथ लिएका हुन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र श्रेष्ठद्वयलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

कर्णालीबाट आएका नेतासँग छुट्टाछुट्टै कुरा गर्दै ओली र प्रचण्ड
कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि काठमाडौं बोलाइएका कर्णालीका नेताहरूसँग नेकपाका दुई अध्यक्षले छुट्टाछुट्टै छलफल गर्ने भएका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बिहीबार दिउँसो मुख्यमन्त्री शाहीलगायत नेताहरूसँग खुमलटारमा छलफल गरेका छन्। उक्त छलफलमा नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका थिए ।

प्रचण्डसँगको भेटघाटमा शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेतृत्व गरेका सांसद यामलाल कँडेल भने सहभागी थिएनन्। खुमलटार पुगेका नेताहरूको कुरा सुनेपछि प्रचण्डले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेर उनीहरूलाई संयुक्त छलफलमा बोलाउने बताएका थिए।

आजको कोरोना अपेडटः १९ जनाको मृत्यु, संक्रमित कति ?
नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार ७ सय ४९ जना नयाँ संत्रमित थपिएका छन् भने ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएका छन् । आज थपिएका संक्रमण संक्रमितहरुमध्ये १ हजार ९ सय ३५ जना भने काठमाडौं उपत्यकाका रहेका छन् ।

ऋाजको थप अपडेटसँगै १ लाख २१ हजार ७ सय ४५ पुगेको स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोभिडले ज्यान गुमाएकामध्ये आधा दीर्घरोगी, दुई तिहाइको उमेर ५० वर्षभन्दा माथि
नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुमध्ये ५०प्रतिशत दीर्घ रोगी रहेको तथ्यांकले देखाएको छ ।

चार महिनाको अवधिमा ज्यान गुमाएका ६ सयमध्ये ४९.६६ प्रतिशत अर्थात् २ सय ९८ जना दिर्घरोगी रहेका तथ्याङ्कले देखाएको हो । यस्तै तथ्याङ्कमा उल्लेख गरिएका अनुसार मृत्यु भएकामध्ये ४ सय ४२ जना ५० वर्ष भन्दा माथिको उमेरका व्यक्तिहरु रहेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या करिब ७ सय पुग्नै लाग्दा संक्रमणका कारण ज्यान गुमाउने ४९.६६ प्रतिशत दिर्घरोगी र ७३.६६ प्रतिशत ५० वर्ष उमेर नाघेका व्यक्तिहरु तथ्याङ्कले देखाएको छ ।

अर्थमन्त्रीको पहिलो निर्णय, विश्व बैंकबाट २० करोड डलर ऋण लिने
नेकपाका महासचिव विष्णु पौडेलले दोस्रो पटक अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन् ।

बुधबार मात्रै अर्थमन्त्रीमा नियुक्त भएका पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।

पौडेलले मन्त्रालयमा पुगेर पदबहाली गर्दै पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। सञ्चारकर्मीहरुलाई प्रवेशमा कडाइ गरिएको पदबहालीका क्रममा उनले पहिलो हस्ताक्षर विश्व बैंकबाट २० करोड डलर ऋण लिन निर्णयमा गरेका छन् ।

उक्त ऋण कोरोना भाइरस कोभिड नियन्त्रण तथा रोकथाममा खर्च गरिने भएको छ । विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण स्वीकार्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।

मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउँछु : सञ्चारमन्त्री गुरुङ
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै मन्त्रालयको सूचनालाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत् सूचना दिने व्यवस्था मिलाउने बताएका हुन् ।

मन्त्री गुरुङले कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफुले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्नेसमेत बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्पिरिषद् पुनर्गठन गरेपछि महिला तथा समाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिमेवारी पाएका हुन् ।

अलपत्र योजना अघि बढाउँछुः शहरी विकास मन्त्री श्रेष्ठ
नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अलपत्र योजनाहरु अघि बढाउने बताएका छन्।

राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयका कामको अवस्था बुझेर रोकिएको योजनाहरु अघि बढाउने बताएका हुन् ।

उनले सबै चुनौतीहरुको सामना गर्दै शहर विकास राज्यमन्त्री रामवीर मानन्धरसँग समन्वयमा काम गर्ने पनि बताए ।

अहिलेसम्म रिक्त रहेको शहरी विकास मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ११औं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्रालयको जिम्मोवरी श्रेष्ठलाई दिएका छन् ।

‘केपी ओली विधिअनुसार चल्नु र कुकुरको पुच्छर सोझिनु उस्तै हो’
लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली विधिअनुसार चल्न नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले ११औं पटक मन्त्रिपरिषद् पुनर्गठन बुधबार गरेपछि ट्वीट् गरेका संग्रौलाले यस्तो टिप्पणी गरेका हुन् ।

यस्तै संग्रौलाले ओलीले छापामार शैलीमा आफ्नै पक्षका तीन नेतालाई मन्त्रीमा भर्ती गरेको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले हिजो मात्रै रिक्त मन्त्रालयमा तीन मन्त्रीलाई नियुक्त गरेका छन् । अर्थमन्त्रीमा विष्णु पौडेल, शहरी विकामन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिलामन्त्रीमा लीलानाथ श्रेष्ठलाई प्रधानमन्त्री ओलीले नियुक्त गरेका छन् ।

युइएफए नेसन्स लिगः एमबाप्पे र ग्रिजमनको गोलमा फ्रान्सको जित
युवा फरवार्ड केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको गोल सहयोगमा विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा विश्व उपविजेता क्रोएसियालाई २–१ ले पराजित गरेको छ ।

क्रोएसियाका निकोला भ्लासिचले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । फ्रान्सले विश्वकपको फाइनलमा तथा गत महिना नेसन्स लिगकै खेलमा क्रोएसियालाई समान ४–२ ले पराजित गरेको थियो ।

जितसँगै लिग ‘ए’ ३ मा अपराजित रहेको फ्रान्स ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहँदा क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ । समान १० अंक भएपनि पोर्चुगल गोल अन्तरमा शीर्षस्थानमा छ । स्वीडेनले अंकको खाता खोल्न सकेको छैन ।

किर्गिजस्तानका राष्ट्रपति सूरोनबेद्वारा राजीनामा दिने घोषणा
किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

राष्ट्रपतिविरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजीनामा दिन लागेका हुन् ।

राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफू सत्तामा
राष्ट्रपति जिन्बेकोभले प्रधानमन्त्री सादिर जापारोभ र अन्य राजनीतिक नेताहरुलाई मुलुकमा शान्ति बहाल गर्ने कार्यमा तत्पर हुन समेत आग्रह गरेका छन्।

किर्गिजस्तानको हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन जारी छ।

प्रतिक्रिया