सामाजिक विकासमन्त्री सहित सिडियोको टोली वीपी प्रतिष्ठानमा, उपकुलपति जिम्मेवार नभएको आरोप

धरान । कमसल भेन्टिलेटर खरिद गरेको विषयमा प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको झाँको झारेका छन् । कोरोना संक्रमणले प्रदेश नै आक्रान्त भएको बेला उपकुलपति भने गैरजिम्मेवार बनेकाले सामाजिक विकासमन्त्री घिमिरेले आज प्रतिष्ठान नै पुगेर उपकुलपति र प्रतिष्ठानको कार्यशैली प्रति आलोचना गरे ।

मन्त्रालयका सचिव, प्रदेशका ल्याव प्रमुख, स्वास्थ्य महाशाखाका प्रमुख सहित वीपी प्रतिष्ठान आएका मन्त्री घिमिरेले पदाधिकारीहरुको लापरवाहीले कोरोना संक्रमितको स्वास्थ्य माथि खेलवाड भएको बताए । ‘प्रदेश १ कै सुविधा सम्पन्न अस्पताल भनेर प्रदेश सरकारले विस्वास गरेको थियो, तर उहाँहरुले काम गर्न सक्नु भएन । कोरोना संक्रमण न्यूनिकरण गर्न भूमिका भएन ।’ मन्त्री घिमिरेले बताएका थिए ।

उनले प्रतिष्ठानले खरिद गरेको भेन्टिलेटर विग्रिएको विषयमा अनुसन्धान हुनुपर्ने भन्दै संक्रमण न्यूनिकरणमा प्रतिष्ठान गैरजिम्मेवार भएको आरोप लगाए । खासगरी कोरोना संक्रमण रोकथाम र उपचारमा प्रतिष्ठानका उपकुलपति जिम्मेवार नभएको, प्रदेश सरकारसँग आवश्यक समन्वय नगरेको, कोभिड अस्पतालमा चरम लापरवाही र भ्रष्टाचार गरेको मन्त्री घिमिरेको भनाई थियो ।

मन्त्री घिमिरेले प्रतिष्ठानका पदाधिकारीलाई तत्काल कमीकमजोरी सुधारेर कोरोना अस्पताल सञ्चालन गर्न र विरामीको स्वास्थ्योपचारमा लाग्न निर्देशन दिए ।

 भेटमा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले उपकुलपति र अन्य पदाधिकारीलाई भेन्टिलेटर विग्रिएको सन्दर्भमा कडा प्रश्न गरे । ‘कोरोना हस्पिटलमा जडान गरिएको भेन्टिलेटर यति चाँडो कसरी विग्रियो ? यसको जिम्मेवार को हो ? प्रतिष्ठानले यसको जवाफ दिनुपर्छ ।’ पोखरेलले भनेका थिए ।

कोभिड अस्पतालमा जडान गरिएका भेन्टिलेटर पुराना तथा व्यापारीहरुसँगको साँठगाँठमा खरिद गरीएको आरोप लागेको छ । उपकुलपतिका स्वकीय सचिवले स्थानीय सप्लायर्ससँगको साँठगाँठमा कमसल भेन्टिलेटर खरिद गरेको, कोभिड अस्पताल निर्माणमा सस्तोमा सामान खरिद गरेर महंगोमा किनेको आरोप लागेको छ । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले आवश्यक अनुसन्धान पनि गरिरहेको छ ।

सिडियो पोखरेलले प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्टका सन्दर्भमा पनि कुरा उठाएका थिए । ‘प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट स्थायी रुपमा हुनुपर्नेमा अस्थायी रहेछ । यसले आउँदा दिनमा झन समस्या पैदा गर्छ । भोलीको संभावित संकटका विषयमा प्रतिष्ठानले किन सोच्न सक्दैन ?’ सिडियो पोखरेलले भनेका थिए ।

बैठकमा सहभागी धरान उपमहानगरपालिकाकी उप–मेयर मन्जु भण्डारीले कोडिभ अस्पतालमा संक्रमितहरुले समयमा नै खाना नपाएको, राम्रो हेरचाह नभएको गुनासोबारे पदाधिकारीहरुलाई अवगत गराएकी थिइन् ।

भण्डारीका अनुसार ‘संक्रमितहरु वीपीमा जानु भन्दा घरमै बस्न चाहिरहेका छन् । वीपीमा आए पनि मृत्यु भइरहेको छ । आइसियु, भेन्टिलेटर बेड नपाएर फर्कनु परेको बिषयमा पनि कुरा उठेको छ । कमीकमजोरीको समिक्षा भयो, सुधार गर्दै जाने प्रतिवद्धता आएको छ ।’ उनले भनिन ।

बैठकमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको धर्मशालालाई आइसोलेसनबाट कोभिड अस्पतालको रुपमा विकास गर्नेबारे छलफल भएको बताएका थिए । साथै, अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढीसकेको र चाँडै पुरा हुने बताएका थिए ।

प्रतिष्ठानमा अहिले भेन्टिलेटर मात्र होइन, कोरोना संक्रमितहरुलाई अक्सिजन बेड पनि छैन । सिरियस अवस्थाका संक्रमितहरुलाई मात्र उपचार गर्ने भनेर सरकारले नै लेभल थ्री अस्पताल घोषणा गरेको भएपनि ९ वटा बेडमा मात्र अक्सिजन पट जडान गरिएको छ । सय बेडमा १० बेडमा मात्र भेन्टिलेटर छ त्यसमा पनि भेन्टिलेटर विग्रिएपछि विरामीले सास्ती पाइरहेका छन् ।

प्रतिक्रिया