युइएफए नेसन्स लिगः एमबाप्पे र ग्रिजमनको गोलमा फ्रान्सको जित

एजेन्सी । युवा फरवार्ड केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको गोल सहयोगमा विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा विश्व उपविजेता क्रोएसियालाई २–१ ले पराजित गरेको छ ।

क्रोएसियाका निकोला भ्लासिचले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । फ्रान्सले विश्वकपको फाइनलमा तथा गत महिना नेसन्स लिगकै खेलमा क्रोएसियालाई समान ४–२ ले पराजित गरेको थियो ।

माक्सिमिरल जाग्रिवमा बुधबार राति भएको खेलमा पाहुना टोलीले खेलको आठौं मिनेटमा नै एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । फर्लान्ड मेन्डीको क्रसलाई क्रोएसियाका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई ग्रिजमनले गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ६४औं मिनेटमा भ्लासिचले घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । कप्तान लुका मोड्रिचबाट आएको ब्याक पासलाई जोसिप ब्रेकालोले मिलाईदिएको पासमा निकोला भ्लासिचको प्रहारलाई फ्रान्सका गोलरक्षक लोरिसले रोक्ने कुनै अवसर नै पाएनन् ।

९औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । पल पोग्वाको लामो पासलाई लुकास डिग्नेले अफसाइड बिट ट्रयाप गर्दै वान टचमा फ्लिक गरेको बललाई एमबाप्पेले पनि वान भर्सेस वानको अवस्थामा वान टचमा फिनिस गरेका थिए । खेलमा पछि परेपछि घरेलु टोलीले दुई सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितसँगै लिग ‘ए’ ३ मा अपराजित रहेको फ्रान्स ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहँदा क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ । समान १० अंक भएपनि पोर्चुगल गोल अन्तरमा शीर्षस्थानमा छ । स्वीडेनले अंकको खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया