आइपिएलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न आइपिएलको ३० औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेर मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

१ सय ६२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको छ ।

राजस्थानलाई जितको लागि अन्तिम १८ बलमा २९ रन आवश्यक रहेकोमा १८ औं ओभरमा एनरिच नोर्टजेले एक विकेट लिदै ४ रन खर्चेका थिए । १९ औं ओभरमा कागिसो रबाडाले तीन रन खर्चेर १ विकेट लिएपछि दिल्ली जित तर्फ अग्रसर भएको थियो । अन्तिम ओभरमा राजस्थानलाई २२ रन चाहिँएकोमा तुषार देशपान्डेले एक विकेट लिदै ८ रन खर्चिदै रोमाञ्चक जित दिलाए ।

सुरुवाती ओपनर जस बटलर र बेन स्टोक्सले ३ ओभरमा ३७ रनको साझेदारी गरेका थिए । तेस्रो ओभरको अन्तिम बलमा एनरिच नोर्टजेले बटलरलाई २२ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाए । बटलरले ९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । चौथो ओभरको अन्तिम बलमा रविचन्द्रन आश्विनले कप्तान स्टिभ स्मिथलाई एक रनमा आफ्नै बलमा क्याचआउट गरे ।

११ औं ओभरको दोस्रो बलमा तुषार देशपान्डेले बेन स्टोक्सलाई वैकल्पिक फिल्डर ललित यादवबाट ४१ रनमा क्याच गराउँदै आफ्नो पहिलो विकेट लिए । स्टोक्सले ३५ बलमा ६ चौका प्रहार गरे । १२ औं ओभरको चौथो बलमा अक्षर पटेलले सन्जु स्यामसनलाई २५ रनमा बोल्ड आउट गरे । स्यामसनले १८ बलमा २ छक्का प्रहार गरेका थिए ।

१४ औं ओभरको दोस्रो बलमा रियान पराग एक रनमा रन आउट भएपछि राजस्थानलाई समस्यामा परेको थियो । १८ औं ओभरको तेस्रो बलमा नोर्टजेले रोबिन उथप्पालाई योर्कर बलमा ३२ रनमा बोल्ड आउट गरे । उथप्पाले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । राहुल टेवाटिया १४ रनमा अविजित रहे । कप्तान श्रेयस ऐर पाँचौ ओभरको अन्तिम ओभरमा फिल्डिङ गर्नेक्रममा काँधमा चोट लागेर बाहिरिएपछि दिल्लीको कप्तानी शिखर धवनले गरेका थिए ।

एनरिच नोर्टजेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । तुषार देशपान्डेले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । अक्षर पटेटले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । दिल्लीका कप्तान श्रेयस ऐर र शिखर धवनले अर्धशतकीय इनिङ खेले । धवनले ३३ बलमा ६ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए । ऐरले ४३ बलमा ३ चौका र २ छक्का सहित ५३ रनको योगदान दिए ।

दिल्लीको सुरुवात भने खराब थियो । पहिलो ओभरको पहिलो बलमै ओपनर पृथ्वी शालाई जोफ्रा आर्चरले बोल्ड गर्दै गोल्डेन डकमै पेभिलिएन फर्काए । आर्चरलेनै तेस्रो ओभरको तेस्रो बलमा अजिंक्या रहाणेलाई रोबिन उथप्पाबाट दुई रनमा क्याच आउट गराएपछि दिल्ली कमजोर भयो ।

तेस्रो विकेटका लागि ऐर र धवनले ८५ रनको उत्कृष्ट साझेदारी गर्दै दिल्लीलाई खेलमा फर्काए । यी दुई बीचको साझेदारी १२ औं ओभरको चौथो बलमा स्पिनर श्रेयस गोपालले तोडे । गोपालको बलमा धवन कार्तिक त्यागीबाट क्याच आउट भए । टप एज लागेर थर्डम्यानमा क्याच आउट हुन पुगेका थिए ।

कार्तिक त्यागीको १६ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका ऐर लङ अफमा जोफ्रा आर्चरबाट क्याच आउट भए । ऐर र मार्कस स्टोइनिसले चौथो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । आर्चरको १९ औं ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस १८ रनमा मिड विकेटमा राहुल टेवाटियाबाट क्याच आउट भए । एलेक्स केरी १४ र अक्षर पटेल ७ रनमा क्याच आउट भए ।

राजस्थानका लागि जोफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । श्रेयस गोपालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । जयदेव उनादकटले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । दिल्लीले आफ्नो नवौं खेल आगमी शनिवार चेन्नई सुपर किंग्ससँग शारजाहमा खेल्ने छ । राजस्थानले नवौं खेल शनिवार रोयल च्यलोन्जर्स बेंगलोरसँग खेल्ने छ ।

यो जितसँगै दिल्ली ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई र बेंगलोरको अंक तालिकामा समान १० अंक छ । नेट रन रेटको आधारमा मुम्बई शीर्ष र बेंगलोर तेस्रो स्थानमा छन् । कोलकाता चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स छैटौं, राजस्थान सातौं र किंग्स इलेभेन पन्जाब २ अंक जोड्दै अन्तिममा छ ।

प्रतिक्रिया