नेयमारको ह्याट्रिकमा ब्राजिलको सानदार जित

एजेन्सी । ब्राजिलले विश्वकप छनौट चरणको दोस्रो खेलमा पनि जित हासिल गरेको छ । फरवार्ड नेयमारले ह्याट्रिक गरेपछि दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले विश्वकप छनोटमा पेरुलाई ४–२ ले पराजित गरेको हो ।

खेलमा ब्राजिल २ पटक पछि परेपनि पुनरागमन गर्न सफल भएको थियो । खेलमा पेरुलाई अग्रता दिलाउने क्रममा छैटौं मिनेटमा आन्द्रे क्यारिलोले गोल गरेका थिए । तर, २८ औं मिनेटमा ब्राजिलले पेनाल्टी पाउँदै खेलमा पुनरागमन गर्यो । उक्त पेनाल्टीमा नेयमारले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ५६ औं मिनेटमा रेनाटो टापियाले गोल गर्दै पेरुलाई पुनः अग्रता दिलाए । तर ८ मिनेटपछि नै ब्राजिलका रोबर्टो फिर्मिनोको हेडरमा रिचार्लीसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८३ औं मिनेटमा नेयमारले पुनः पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । एक मिनेट समय बाँकी हुँदा पेरु १० खेलाडीमा सिमित भयो । कार्लोस जाम्ब्रानोले ब्राजिलका खेलाडीमाथि हात उठाउँदा रेफ्रीले रातो कार्ड देखाए । ९०औं मिनेटमा नेयमारले गोल गर्दै ४–२ को जित पक्का गरे ।

लगातार दोस्रो जितसँगै ब्राजिल छनोट तालिकाको शीर्ष स्थानमा पुगेको छ । अर्जेन्टिना पनि २ खेलमा ६ अंकसहित गोल अन्तरमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया