चितवनका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडाैं । चाडबाडलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज (मंगलबार) बढी मानिसहरुको भीडभाड हुने क्षेत्र नारायणगढको पुल्चाेक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । यस कक्ष स्थापनाका लागि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले सहयोगी भूमिका निर्वाह गरेको छ ।

चाडबाडका बेला समस्यामा परेका यात्रु र व्यक्तिहरुलाई समयमै उद्धार र सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । उनले जिल्ला प्रहरी कार्यालय चितवनको चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत सहायता कक्ष निर्माण गरिएको बताए ।

सहायता कक्षको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले औनपचारिक रुपमा उद्घाटन गरे । सो क्रममा बोल्दै प्रजिअ भट्टराईले सरकारले जो जहाँ छन् त्यही बसेर चाडबाड मनाउन आग्रह गरिएकोले सोही अनुरुप मनाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले चाडबाडमा हुने घटनाहरु हुन नदिन प्रहरी सतर्क रहेको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले निर्देशन अनुरुप नै यातायात व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्ने बताए ।

चाडपर्व नजिकिदैँ जाँदा सार्वजनिक सवारीहरूमा हुन सक्ने यात्रुहरुको भीडभाड, बढी भाडा लिने, यात्रु सिट क्षमता भन्दा बढी यात्रा चढाउने, टिकटमा कालोबजारी गर्ने जस्ता सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग ट्राफिक प्रमुख भट्टले बताए ।

यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र यातायात व्यावसायीका प्रतिनिधि रहनेछन् । कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रमुख डिल्लीराम अधिकारी, यातायात व्यवसायीका प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया