शनिबार दक्षिण कोरिया आएका ११ नेपालीमा कोरोना पुष्टि

दक्षिण कोरिया । शनिबार दक्षिण कोरिया आएका ११ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले उनीहरुमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

राजधानी सोल नजिकैको गोयाङ सहरमा कोरियाली भाषा अध्ययनका लागि आएका ४३ जना नेपाली विद्यार्थीमध्ये ११ जनामा संक्रमण देखिएको बताइएको छ ।

कोरिया प्रवेश गर्नुअघि इन्छन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा एक जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएको थियो । त्यसैका आधारमा सँगै आएका अन्यको पनि परीक्षण गर्दा संक्रमण देखिएको केसीडीसीले जनाएको छ ।

नेपालबाट आउँदा कोरोना नलागेको रिपोर्ट भए पनि यति धेरै विद्यार्थीमा संक्रमण देखिएकाले आफूहरू छक्क परेको गोयाङ नगरपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

अहिले आन्सानको अस्पतालमा संक्रमित बिरामीको उपचार भइरहेको छ । एक महिनाअघि दक्षिण कोरियाली सरकारले बाह्य मुलुकबाट संक्रमित भएर आए आफैंले अस्पताल खर्च बेहोर्नुपर्ने नियम बनाएको छ । यो नियमअनुसार संक्रमित सबै नेपालीले महँगो अस्पताल खर्च बेहोनुपर्ने भएको छ । भर्खरै कोरिया प्रवेश गर्ने नेपालीलाई आर्थिक सास्ती हुने भएको छ ।

दक्षिण कोरियामा यसअघि ८ जना नेपाली कोरोना संक्रमित भएका थिए । यसमध्ये दुई जना रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका थिए । अन्य विभिन्न भिसा मार्फत कोरिया आएका नेपाली रहेका छन्

प्रतिक्रिया