वीपीका ज्यालादार कर्मचारीहरुको आन्दोलन जारी, उपकुलपति नहुँदा माग संवोधन हुन सकेन

धरान । दुई वर्षदेखि ज्यालादारीमा काम गर्दै आएका कर्मचारीलाई प्रतिष्ठानले करारमा नराखेको भन्दै आन्दोलनमा उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले उपकुलपतिका स्वकीय सचिव विरुद्ध चर्का नारा लगाएका छन् ।

प्रतिष्ठानमा वर्षौंदेखि ज्यालादारीमा काम गरेकालाई करारमा नियुक्ति गर्न नसक्ने उपकुलपतिले आफ्ना लागि भने लाखौं तलब दिएर स्वकीय सचिव राखेको र प्रतिष्ठानको आर्थिक तथा भौतिक सम्पत्तिको चरम दुरुपयोग गरेको भन्दै आन्दोलनरत ज्यालादार कर्मचारीहरु आक्रोशित भएका छन् ।

आज विहान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यलयमा धर्ना दिने क्रममा उनीहरुले ‘प्रतिष्ठानको सम्पत्ति दुरुपयोग गर्न पाईंदैन, प्रतिष्ठानमा राजनीति गर्न पाईंदैन, भ्रष्टाचार गर्न पाईंदैन, नीति नियम लागू गर, दैनिक ज्यालादारीलाई करार गर’ जस्ता नारा लगाएका थिए ।

उनीहरुले उपकुलपतिले प्रतिष्ठानलाई भर्ति केन्द्र बनाएको समेत बताएका छन् । प्रतिष्ठान आर्थिक रुपले धरासायी बन्दै गएपनि पदाधिकारीहरुले अनावश्यक रुपमा लाखौं सेवा सुविधा दिएर सल्लाहकार, स्वकीय सचिव राखेको यसरी राखिएका स्वकीय सचिवहरुले प्रतिष्ठानको आर्थिक तथा भौतिक श्रीसम्पत्तिमा मोजमस्ती गरेको कर्मचारी किरण कुमार भट्टराईले बताए । उनीहरूले स्वकीय सचिवकाे राजिनामा समेत मागेका छन् । साथै, काेराेना हस्पिटलमा भएकाे भ्रष्टाचारकाे निष्पक्ष छानविनकाे माग गरेका छन् ।

एक साता अघि प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीलाई माग पत्र पेश गर्दै तत्काल ज्यालादारी कर्मचारीलाई करारमा राख्ने प्रक्रिया थाल्न माग गरेका थिए । तर, प्रतिष्ठानका उपकुलपति कार्यालयमा नहुँदा उनीहरुको माग संवोधन हुन सकिरहेको छैन ।

आज मंगलबार उनीहरुले उपकुलपतिको कार्यालय अगाडी केही बेर नाराबाजी गर्दै जनरल ओपिडी अगाडी पुगेर धर्ना दिएका थिए । उपकुलपतिको कार्यशैली र गैरजिम्मेवारी पनको चर्को विरोध गरेका उनीहरुले कोरोना अस्पताल सञ्चालन र कर्मचारी सरुवा बढुवामा उपकुलपतिले कहिँ नभएको तमासा खडा गरेको, वर्षौंदेखि काम गरेका इमान्दार कर्मचारीको मनोभावना गिराएको, स्वकीय सचिवले प्रतिष्ठानको पैसाले लाखौंको मोवाइल किनेर बोकेको, विलासी गाडी चढेको, गेष्ट हाउसको चरम दुरुपयोग गरेको समेत जिकिर गरेका छन् ।

 

‘आफ्ना लागि लाखौं तलब दिएर डाइरेक्ट करारमा स्वकीय सचिव र सल्लाहकार राख्नेले वर्षौंदेखि ज्यालादारीमा काम गर्दै आइरहेका हामी कर्मचारीको पिडा बुझ्न नसकेकोले आन्दोलनमा उत्रिएका हौं । हामी व्याक हुने अवस्थामा छैनौं ।’ आन्दोलनका अगुवा किरण भट्टराईले बताए ।

प्रतिष्ठानमा १२० जना दैनिक ज्यालादारी कर्मचारी रहेका छन् जो दुई वर्षदेखि काम गरिरहेका छन् । कोरोना संक्रमणको जोखिम मोलेर काम गर्दापनि प्रतिष्ठानले स्वास्थ्य सुरक्षा नदिएको ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको भनाई छ ।

प्रतिक्रिया