लोक लक्ष्मी स्मृति प्रतिष्ठानले मंसिरसम्म धरानमा निःशुल्क खाना खुवाउने

- भरतराज शर्मा (गोपाल)
सुनसरी । लोक लक्ष्मी स्मृति प्रतिष्ठान, धरानले आउँदो मंसिर महिनासम्म मजदुर, विपन्न समुदाय र असहायहरुलाई नि:शुल्क खाना खुवाउने भएको छ ।
कोरोना भाइरसका कारण मजदुर, विपन्न समुदाय र असहायहरु भोकै बस्न नपरोस् भनेर प्रतिष्ठाने असोज १ गतेबाट नि:शुल्क खाना खुवाउँदै आएको छ । यसलाई मंसिरसम्म निरन्तरता दिन लागेकाे हाे ।
गत भदौ ३१ गते प्रतिष्ठानले धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै असोज महिनाभर निःशुल्क खाना खुवाउने घोषणा गरेको थियो । अहिले पुनः दुई महिना थप गरेकाे हाे ।
प्रतिष्ठानका अनुसार हाल धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृहमा रहेका सडक मानवहरु र धरान १ छाताचौकस्थित पुरानो अस्पतालमा रहेको पुर्नस्थापना गृहका दैनिक १ सय १५ जनालाई नि:शुल्क खाना खुवाउँदै आएको छ।
यसैबीच कोरोना संक्रमण दिनहु वृद्धि भइरहेको बेला धरानमा भोलि मंगलबारदेखि स्वास्थ्य प्रोटोकल पालना भए/नभएकोबारे अनुगमन गरिने भएको छ । मेयर तिलक राईको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल समेतको उपस्थितिमा धरानमा आज भएको बैठकले यस्तो निर्णय भएको हो ।
मेयर राईका अनुसार कोरोना संक्रमणको जोखिम बढ्नुमा व्यक्तिहरु स्वयम् सचेत नभएको देखिएपछि भोलिदेखि प्रोटोकल पालनाको विषयमा अनुगमन गर्ने निर्णय भएको हाे ।








