‘लाखौं दिएर पर्सनल पीए राख्नेले ज्यालादारीलाई हेर्न सकेनन्’ भन्दै वीपीका कर्मचारी धर्नामा

धरान । दुई वर्ष पुरा भएका ज्यालादारी कर्मचारीलाई करारमा नियुक्ति गरियोस् भन्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ज्यालादारी कर्मचारीहरुले आन्दोलनलाई अझ शशक्त बनाएका छन् ।

एकसाता अघि प्रतिष्ठान व्यवस्थापनसँग लिखित रुपमा आफ्ना माग बुझाउँदै उपकुलपति र उनका स्वकीय सचिवले प्रतिष्ठानको सिष्टम पद्दति विगारेको आरोप लगाएका उनीहरु आजबाट कालाे पट्टि बाँधेर झन कडारुपमा प्रस्तुत भएका हुन् ।

आज उनीहरुले प्रतिष्ठानको जनरल ओपिडी अगाडी धर्ना दिँदै उपकुलपतिको कार्यशैली र गैरजिम्मेवारी पनको चर्को विरोध जनाए । कोरोना अस्पताल सञ्चालन र कर्मचारी सरुवा बढुवामा उपकुलपतिले कहिँ नभएको तमासा खडा गरेको, वर्षौंदेखि काम गरेका इमान्दार कर्मचारीको मनोभावना गिराएको उनीहरुको आरोप छ ।

दुई वर्षदेखि प्रतिष्ठान समक्ष आफ्ना जायज मागहरु पटक–पटक राखेपनि पदाधिकारीहरुबाट कुनै रेस्पोन्स नआएपछि आफुहरु काम छाडेर आन्दोलनमा उत्रिनु परेको जुनियर कर्मचारी किरण प्रसाद भट्टराईले बताए ।

‘आफ्ना लागि लाखौं तलब दिएर डाइरेक्ट करारमा स्वकीय सचिब र सल्लाहकार राख्नेले वर्षौंदेखि ज्यालादारीमा काम गर्दै आइरहेका हामी कर्मचारीको पिडा बुझ्न सकेनन् । त्यहि भएर बाध्यतावस आन्दोलनमा उत्रिएका हौं ।’ भट्टराईले भने ।

यसअघि गत सातामात्रै प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीसँग भेट गरेर ‘एकलाखे सल्लाहकार चाहिँदैन’ समेत भन्दै लाख बढी तलब दिएर करारमा आएका स्वकीय सचिव दिलिप भट्टराईको समेत चर्को विरोध जनाएका उनीहरुले आजको विरोध सभामा पनि त्यहि नारा लगाएका छन् ।

आन्दोलनरत कर्मचारी भट्टराईले रजिष्ट्रारले माग पुरा गर्न आवश्यक छलफल गरेर जानकारी गराउने भनेपनि अहिलेसम्म कुनै जानकारी नदिएको तथा उपकुलपति र उनका सल्लाहकार राजधानीमा प्रतिष्ठानकै पैसा खर्च गरेर बसेको समेत जिकिर गरे ।

उनले दैनिक ज्यालादारीलाई करारमा नियुक्त नगरेसम्म आन्दोलन जारी रहने जनाए । ‘जवसम्म हाम्रा मागहरु सवोधन हुँदैन तवसम्म यसैगरी आन्दोलन गर्छौं । हामीले काम छाड्दा प्रतिष्ठानलाई कति नोक्सान हुन्छ भन्ने पदाधिकारीले बुझेका रहेनछन् ।’
ज्यालादारी कर्मचारीहरुले तत्काल कर्मचारीहरुलाई अन्य माग पुरा गर्न असहज भए दैनिक ज्यालादारीलाई प्राथमिकतामा राखेर करार मात्रै गरिदिए पनि राहत मिल्ने बताएका छन् । ‘हामी प्रतिष्ठान प्रति अत्यन्त जिम्मेवार छौं, सबै माग व्यपस्थापनले सुन्न नसक्ला तर, तत्कालका लागि १२० जना ज्यालादारीलाई करारमा त राख्न सकिन्छ, कोरोना स्वास्थ्य सुरक्षा त दिन सकिन्छ नि ।’ भट्टराई भन्छन् ।

अहिले प्रतिष्ठानमा १२० जना दैनिक ज्यालादारी कर्मचारी रहेका छन् जो दुई वर्षदेखि काम गदैछन् । आफुहरुले कोरोना संक्रमणको जोखिम मोलेर काम गर्दापनि प्रतिष्ठानले स्वास्थ्य सुरक्षा नदिएको ज्यालादारी कर्मचारी कञ्चन बोहराले बताइन् । ‘हाम्रा कति साथीहरु समेत संक्रमित हुनुभएको छ । हाम्रालागि प्रतिष्ठानले केही गरेन । प्रतिष्ठानमा ४ वर्षदेखि ज्यालदारीमा काम गर्नेहरु हरुपनि छन् । ‘उहाँहरुले आफ्नो पर्सनल पिए लाखौं दिएर राख्न सक्नुहुन्छ, हामी जस्ता दैनिक ज्यालादारीलाई हेर्न सक्नुहुन्न ।’ बोहरा भन्छिन् ।

उपकुलपतिका स्वकीय सचिब भट्टराईले प्रतिष्ठानको भौतिक, आर्थिक र प्रशासनीक काममा चरम हस्तक्षेप गरेको आरोप छ । ‘उनले प्रतिष्ठानको हाइलक्स गाडी पर्सनल गाडी जस्तो बनाएका छन् । गेष्ट हाउसलाई भट्टी पसल जस्तो बनाएका छन् । प्रतिष्ठानकै पैसाले लाखौंको मोवाइल बोकेका छन्, विरोध गर्यो भने ठेगान लगाई दिन्छु भन्दै तर्साउँछन् । प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीकै धमास दिन्छन् ।’ आन्दोलनरत अर्का कर्मचारीले भने–‘यिनीहरु प्रतिष्ठान सुधार्न, विक्रिति विसंगति हटाउन आएका हैनन् सरकारी सम्पत्ति लूट्न आएका हन् ।’

प्रतिष्ठानमा एक महिना यता नियमित आन्दोलन भइरहेका छन् । फ्याकल्टी चिकित्सकहरुले वर्षौंदेखि बढुवा नगरेको भन्दै आन्दोलन गरेका थिए । नर्सहरुले कोरोना स्वास्थ्य सुरक्षा र बीमा समेत नगरेको भन्दै प्रदर्शन गरेका थिए । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका प्रिय पात्र बनेर प्रतिष्ठान आएका उपकुलपति भने यी सबै कुरा मुकदर्शक बनेर हेरिरहेका छन् ।

प्रतिक्रिया