कोरोना भाइरस २८ दिनसम्म जीवित रहन्छः अनुसन्धान

काठमाडौं । कोभिड-१९ रोग गराउने कोरोनाभाइरस २८ दिनसम्म सङ्क्रामक रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायको निष्कर्ष अनुसार पैसा (नोट), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा भाइरस २८ दिनसम्म सङ्क्रामक रहन सक्ने बताएको हो ।

यो भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित रहने अनुसन्धानका दावी छ । तर अनुसन्धानकर्ताहरूले यो प्रयोग अँध्यारो अवस्थामा गरेका हुन् । परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइसकेको छ ।

कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने सङ्क्रमणको जोखिमबारे शङ्का प्रकट गरेका छन् । यो भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्छ ।

यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्सकोभ २ भाइरस नोट वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो । भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएका थिए ।

बीबीसीले उल्लेख गरेअनुसार अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा भने भाइरस निकै जन्ड देखिएको हो । मोबाइल फोनको स्क्रीनजस्तो सम्म सतह अनि प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित पाइयो ।

तुलनात्मक रूपमा फ्लु भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ । ‘सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिएको खण्डमा यसको सङ्क्रमणको अनुमान तथा नियन्त्रण गर्न सजिलो हुन्छ र मानिसहरूलाई जोगाउन सकिन्छ,’ उक्त निकायका प्रमुख कार्यकारी डा ल्यारी मार्शलले बताए ।

प्रतिक्रिया