रुपन्देहीमा कोरोनाले थप चार जनाको ज्यान लियो

काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीका थप चार जनाको मृत्यु भएको छ । मृतकमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका हुन् भने एकजना तिलोत्तमा नगरपालिकाका हुन् ।

बुटवल–११ की ६१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा बिहान २ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जनाकारी दिए । ती महिलामा असोज २१ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भयो । उनमा असोज २२ गते कोरोना पुष्टि भएको थियो ।

डा. गौतमका अनुसार तिलोत्तमा ३ की ६६ वर्षीया महिलाको दाङको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उनलाई बुटवलमा आईसीयू अभाव भएपछि दाङ पठाइएको थियो ।

त्यसैगरी बुटवल ११ का ८४ वर्षीय पुरुषको उपचारका लागि दाङ लाने क्रममा कपिलवस्तुमा मृत्यु भएको छ । बुटवलमा आईसीयू बेड नभएपछि जिल्ला बाहिरका अस्पताल लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको सूचना अधिकारी डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया