विश्वमा संक्रमितको संख्या ३ करोड ७४ लाख नाघ्यो, ब्राजिलमा मात्रै डेढ लाखले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ७४ लाख नाघेको छ भने १० लाख ७७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ७४ लाख ५९ जार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १० लाख ७७ हजार ५५९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड ८१ लाख १२ हजार २१ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख १९ हजार २८२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७९ लाख ४५ हजार ५०५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५० हजार ८७६भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६३५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार ३७१ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ९२१ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ७४ हजार ५३५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५० लाख ९१ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५४४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५० हजार २३६पुगेको छ ।

प्रतिक्रिया