मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

चिठ्ठी [शनिबारीय कोशेली]

'कथा'

  • अमिर मगर

‘तेरो बुवाका चिट्ठीहरु दुई/तीन दिन नबिराउँदै आउँथे ।’ मम्मी लजाउँदै भन्नुहुन्छ–‘हुलाकेहरू पनि अचम्म पर्थे ।’ ‘के हो नानी तपाईँको ?’ भनेर सोध्दा ‘कहिले मामा, कहिले काका, कहिले दाइ’ भन्थेँ ।’

‘बाजेलाई थाहा भएन अनि ?’

‘थाहा हुन दिइनँ । आमालाई थाहा थियो । तर, तेरो बुवालाई मन पराउनुहुन्थ्यो ।’

म हाँस्छु, ‘अनि के के लेख्नुहुन्थ्यो नि बुवाले ?’

‘के हुनु, लेख्न खुब जानेको । अक्षर पनि ठूला-ठूला, बाटुला परेका । ‘तिमीलाई नपाए मेरो जिन्दगी अन्धकार छ’ रे ! तिमीलाई सम्झिएँ भने दिन यसै राम्रो हुन्छ रे । तिमी पनि मलाई माया गर्छ्यौ भने एउटा चिठ्ठी पठाउनु, म पर्खिरहन्छु रे ।’

हामी दुवै एकछिन सम्म हाँसिरहन्छौँ ।

‘अनि तपाईँ जवाफ फर्काउनु हुन्थेन त ?’

‘कहिलेकाहीँ फर्काउँथेँ । त्यति टाढा ब्यारेकमा एक्लै के गर्दै हुनुहुन्छ होला लाग्थ्यो ।’

मम्मीका उमेरले बेवास्ता गर्दै गएका गालाहरूमा फेरि बिस्तारै लाली चढ्दै जान्छन् । समय एक निमेष रोकिन्छ अनि बेगमा पछाडी बहन थाल्छ ।

मम्मी अहिले आफ्नो झ्याल बाहिर काफलका बोटहरू हेर्दै टोलाउँदै हुनुहुन्छ । बाहिर आँगनमा कसैको आवाजÞ आउँछ । मम्मी हतार–हतार सर्माउँदै सँघारमा पुग्नुहुन्छ ।

हुलाके ढाका टोपी मिलाउँदै खिस्स हाँस्छ–“नानी तपाईँको चिट्ठी आ’छ !”

 

प्रतिकृयाहरु
Loading...