काठमाडौंभित्रकी प्रजिअ भन्छिन्–‘दशैं लक्षित विशेष सुरक्षा योजना बनाएका छौँ, लकडाउन् हुने सम्भावना कम छ’

  • धनबल राई

काठमाडौं । कोरोनाको आक्रमण घट्नुको साटो बढेको बढ्यै छ । यद्यपि पनि नेपालीहरुको महान् चाड भनेर भनिँदै आएको दशैं नजिकिँदै छ । नजिकिएको दशैंकै कारण हुन सक्छ, समाज चलायमानजस्तो देखिन्छ । स्वास्थ्य मन्त्रालयको हिजोआजको अध्यावधिक विवरणमा पनि यसकै ‘तथ्यांकीय रुप’ देखिन्छ । जबकि, काठमाडौं उपत्यकाभित्र मात्रै दिनमै ३ हजार नजिक संक्रमितहरु थपिन थालेका छन् । यद्यपि पनि मानिसमा डर गुमेको र रहर पलाएको प्रष्ट रुपमा देखिन्छ । आफू विश्व भ्रमणमा निस्केर विश्ववासीलाई आ–आफ्नै घरमा थुनेको अदृश्य भाइरससँग मान्छे साँच्चै नै अब डराउन छाडेका छन् । परिणामतः सबै मान्छेहरु आ–आफ्नो दैनिक कर्ममा फर्किएका छन् ।

त्यसो देशको संघीय राजधानी काठमाडौं उपत्यका धेरै जनघनत्व भएको शहर हो । कारण, यहाँ देशको चारैतिरको मान्छेहरुको अस्थायी बसोबास रहेको छ । त्यसो त शहर धेरै चलायमान हुनुलाई पनि अस्वभाविक रुपमा लिनु भएन ।
त्यसै त कहिल्यै ननिदाउने काठमाडौं दशैं नजिकिँदै गर्दा झिमिक्क गरेकोजस्तो पनि देखिँदैन । दशैंको चटारो सबैमा परेकै देखिन्छ । कोही घर गइसकेका छन् त कोही जाने तरखर गरिरहेका छन् । त्यसो त यी यावत् खालका जोखिमलाई नियमण गर्न, सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिन अनि सबैको दशैं दशैंजस्तै बनाउनलाई खासगरी काठमाडौं उपत्यकाका प्रशासनहरुले के गरिरहेका छन् ? ठूला चाडपर्व नजिकिएसँगै आपराधिक दाउ हेर्ने मान्छेहरुको निगरानी कसरी गरिरहेको छ ? मूलभुत रुपमा विशेष सुरक्षा योजनाको बारेमा प्रशासनले के गर्दैछ? यी यावत् विषयमा हामीले भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँग जिज्ञासा राखेका छौँ । प्रस्तुत छ, अधिकारी पाण्डेसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको समसामयिक कुराकानीः–

प्रशासनसँग चाडपर्व लक्षित सुरक्षा योजनाहरु के के छन् ?
हामीले नजिकिँदै गरेको दशैंतिहारलाई लक्षित गरेर सुरक्षाका योजनाहरु बनाइसकेका छौं । भीडभाड गर्न नदिने, बजार अनुगमन गर्ने, मठ–मन्दिरहरुको हुलहुज्जतलाई नियमण गर्नेलगायतका कामहरु हामीले पहिल्यैदेखि पनि गर्दै नै आएका थियौं । फेरि पनि साविककै कुराहरुलाई कडाइका साथ कार्यान्वयनसँगै विद्यमान परिस्थितिबाट बच्ने सकिने विशेष सुरक्षा योजनाहरु अघि सारेका छौँ ।

विशेषगरी काठमाडौं उपत्यकाभित्र दशैंतिहारमा आपराधिक क्रियाकलापहरु बढ्ने विगतका तथ्यांकहरुले पनि बताउँछन्, यसैको नियमणको लागि प्रशासनले कसरी काम गर्नेछ ?
निश्चयः नै ठूला चाडपर्वहरुमा आपराधिक मनोवृत्तिका मान्छेहरु सलबलाउँछन् नै । पहिलेकै नजिर पनि उस्तै नै छ । यसलाई पनि हामीले विशेष ख्याल गर्दै काम गर्ने तयारी गरेका छौँ । यस्ता मनोवृत्तिका व्यक्तिहरुसँग हामी रणनीतिक रुपमा प्रस्तुत हुँदै आएका छौँ र अबको हाम्रो केन्द्र पनि उही नै हुनेछ । हाम्रो काम शान्ति कायम गर्नु भएकाले त्यस्ता कुराहरुमा हामी कदापि चुक्दैनौं ।

सुरक्षा योजना कार्यान्वयनमा प्रशासनलाई कति चुनौती छ ?
यसै पनि हरेक काम गर्नको लागि चुनौती छँदै नै छ । तर, पनि विद्यमान परिस्थितिका कारण थप चुनौती थपिएको छ । तयारी गरिएको योजना कार्यान्वयनमा पनि उस्तै नै चुनौती छ । यद्यपि पनि मुलुकमा शान्ति र सु–व्यवस्था कायम गर्नु हाम्रो मुख्य दायित्व सम्झिँदै हामी त्यतातर्फ उन्मुख हुने नै छौँ । हामीले कार्यान्वयन गर्नेनै छौँ ।

यस्ता आपराधिक गतिविधि दशैंतिहारमै बढेको खण्डमा तपाईँहरुको ‘एक्सन्’कस्तो रहन्छ ?
हामी सधैं नराम्रो मान्छेहरुलाई निगरानी गरिरहेका हुन्छौं । राम्रो कामको सम्मान र नराम्रो कामलाई निरुत्साहित गर्नु हाम्रो कर्तव्य पनि हो । हामी उही गर्दै आएका पनि छौँ र अब गर्ने पनि यही नै हो । अब ‘एक्सन्’कै कुरा गर्नुपर्दा त हामी ‘एक्सन्’मै जाने हो । गल्ती गर्नेलाई कारबाही गर्नमा हामी कहीँ पनि चुक्दैनौं ।

स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमितको संख्या नाघेको खण्डमा पुनः लकडाउन् गर्नु भनी सिफारिस गरेको छ, तर अहिले २६ हजार पनि कटिसकेको अवस्था छ, दशैंमा लकडाउन् हुने सम्भावना कति छ ?
स्वास्थ्य मन्त्रालयले भनेको पनि हो र सक्रिय संक्रमितको संख्याले २५ हजार कटेको पनि हो । तर, पनि लकडाउन् नै गरिहाल्ने स्थिति पनि नबन्ला । सबैको समस्या छ । मैले नै भनिहाल्ने अवस्था त होइन, यद्यपि पनि तत्कालै लकडाउन् हुने कुरा त्यति सम्भव नहोला । तर, पनि म यति चाहिँ अनुरोध गर्छु । हामीले सबैले यथास्थानमै बसेर दशैं मनाऔं ।

दशैंमा उपत्यकाबाट गाउँ फर्किनु कति सहज हुनेछ, सर्वसाधारणलाई ?
सर्वप्रथमतः हामी सबैलाई गाउँ नै नजानु भन्छौं । यदि जानैपर्ने भए पनि उच्च होसियारी अपनाएर जाऔं । सहजताकै कुरा गर्नुपर्दा त सधैंझै नै त्यति सहज त नहोला । तरै पनि जनस्वास्थ्यको मापदण्डबारे पनि सधैं सचेत रहौं ।

विशेष सुरक्षाकै मामिलामा उपत्यकाका प्रशासन कार्यालयहरुबीच कस्तो सहकार्य हुँदै आएको छ ?
काठमाडौं उपत्यकाको तीन प्रशासनहरुबीच सधैं सबै कुरामा सहकार्य हुँदै आएको छ । यस्तै यो विषयमा पनि हामीबीच राम्रो सहकार्य हुँदै आएको छ । हामी हप्तामा एकचोटी बैठक बस्दै आएका छौँ । बैठकमा पनि यस्तै यस्तै कुराहरु हुने गरेका छन् । जिल्ला सुरक्षा परिषद्को पनि बैठक बसिनै रहेको छ । हामी शान्ति र सु–व्यवस्था कायम गर्ने कुरामा सधैं सँगै हुनेछौं ।

प्रतिक्रिया