जापानको प्रसिद्ध खाना “बेन्तो” अब नेपाली बजारमा, कहाँ पाइएला ?

काठमाडौं । व्यस्त शहरी जीवनमा शरीरलाई स्वस्थ राख्न खानाको अति नै महत्वपूर्ण भूमिका हुन्छ । जापानको व्यस्त जीवनशैलीमा स्वस्थ खानाका रुपमा परिचित प्रसिद्ध खाना “बेन्तो” नेपाली बजारमा पहिलो पटक होक्काइदो रामन हाउसले लिएर आएको छ ।

‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गरेको होक्काइदो रामन हाउसले बताएको छ । आजबाट भाटभटेनीमा विक्रि शुरु भएको “बेन्तो” पाँच किसिममा उपलब्ध रहेको छ ।

“बेन्तो” भन्नाले एकजनालाई पुग्ने खाना पसल र रेष्टुँराबाट “टेक आउट” अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ । यसको शुरूवात जापानमा भएको हो । बेन्तोमा भात, नुडल, माछा, मासु, पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ ।

“बेन्तो”को लागि कम्पनीले आवश्यक तरकारीहरू आफ्नै बारीमा फलाउने गरेको छ । अरू सामाग्रीहरू पनि जापानमा तालिम प्राप्त स्टाफहरूले विशेष ध्यान पुर्याई छानेका हुन्छन् । रामन हाउसका अनुसार “बेन्तो” रामन हाउसकै सेन्ट्रल किचेनमा सावधानीपूर्वक तयार गरिन्छ ।

‘हामी जापानी खाद्य संंस्कृतिको चिनारी गर्दै ग्राहकलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई पनि कायम राख्नेछौं ।’ रामन हाउसले भनेको छ ।

होक्काइडो रामेन हाउसको मूल उद्देश्य भनेको नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्नु हो । यसैले जापानको होक्काइडोको धेरै ठाउँमा ‘विस्तारै बिस्तारै’ भन्ने नेपाली रेष्टुँरा सञ्चालन गरेको छ ।

हाल “बेन्तो” नक्साल स्थित भाटभटेनी उपलब्ध हुनेछ । बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरि काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका शहरी क्षेत्रमा बिक्री बढाउदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए ।

प्रतिक्रिया