सरकार र डा. केसी पक्षको वार्ता सकारात्मक, आज सहमति गर्ने तयारी !

काठमाडौं । सरकारी वार्ता टोली र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच आज फेरि वार्ता हुँदैछ । यसअघि बिहीबार दुई चरणमा भएको वार्तापछि बनेको सहमतिको प्रारम्भिक मस्यौदा मुख्यसचिवमार्फत प्रधानमन्त्री केपी ओलीकहाँ पठाइएको छ ।
प्रधानमन्त्री ओलीले मस्यौदामा अध्ययन गरेपछि आजै थप छलफल हुनेछ । थप वार्ता गरेर औपचारिक सहमति गर्ने वार्ता समितिका एकजना सदस्य तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए । बिहीबारको वार्ता सकारात्मक भएको र आजसम्म सहमति गर्ने गरी सरकारी टोली र आफूहरू लागेको उनको भनाई छ । यद्यपी बिहानै वार्ता गर्ने भनिएपनि समय भने तय भइसकेको छैन ।
वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा र डा केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वको टोलीले वार्ता गरेको हो । सरकारले डा. केसीको अनसनको २४औं दिन वार्ता टोली बनाएको थियो भने २५औं दिन वार्ता शुरु भएको थियो । जुम्लाबाट आफ्नो १९औ अनसन शुरु गरेका डा. केसीको अनसनको आज २६औ दिन हो ।








