दशैंको लागि अग्रिम बस टिकट बुकिङ्गबारे विभाग नै अन्यौलमा, गाउँ कसरी जाने ?

काठमाडौं । नेपालमा कोरोना संक्रमण सुरु भएको पनि करिब १० महिना भइसकेको छ । ७ महिनासम्म बन्दाबन्दीमा त मानिसले धैर्य गरेर घरमा नै बसेका थिए । तर कोरोना कति समयसम्म रहने हो भन्ने नै नभएपछि सबै आ–आफ्नो काममा लागेका छन् ।

सर्वसाधारणलाई कोरोनाभन्दा पनि पेटको चिन्ता वृद्धि हुँदै गइरहेको छ । बन्दाबन्दीको समयमा नै केही मानिसहरु भोककै कारणले मृत्युबरण गर्न बाध्य भएका छन् ।

कोरोनाको कारणले ७ महिना गाउँ गएर बसेकाहरु पनि काठमाडौंलगायत विभिन्न शहरमा गएर काम गर्न थालेका छन् ।
काम गर्न विभिन्न शरहमा गएकाहरु अब दशैं मनाउन गाउँ जान पाउने हो कि हैन ? भन्ने चिन्तामा परेका छन् ।

सरकारले कोरोना भाइरस फैलिन नदिन यस वर्षको दशैंमा घर नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईन्सिडेन्ट कमाण्ड सिस्टमले यो वर्ष यथास्थानमै बसेर दशैं मनाउन आग्रह गरिसकेको छ ।

गाउँमा जाँदा कोरोना फैलने डरले मन्त्रालयले आफू बसेकै स्थानमा दशैं मनाउन सरकारले भनिरहेको बेला यातायात व्यवस्था विभागमा दशैंका लागि कहिलेबाट अग्रिम टिकट सुरु गर्ने भन्ने विषयमा छलफल निरन्तर छलफल भइरहेको छ ।

चाडपर्वहरु नजिकिएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चिन्ताले दैनिक गाउँ जानेको संख्या पनि वृद्धि हुँदै गइरहेको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले पछिल्लो समय काठमाडौंबाट गाउँ जानेको संख्या बढिरहेको बताए ।

यातायात व्यवस्था विभाग पनि अग्रिम टिकट बुकिङ सुरु गर्ने कि नगर्ने भन्ने अन्यौलमा नै छ । असोज १ गतेदेखि देशभर लामो तथा छोटो दूरीको यातायात खुलेपनि दशैंमा अग्रिम टिकट के गर्ने भन्नेर सरकार र यातायात व्यवसायीबीच छलफल बेला बेलामा भइरहेको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले विभाग र यातायता व्यवसायीबीच छलफल भइरहेको बताए । उनले भने–‘हामी अग्रिम टिकट खुलाउने कि नखुलाउने भनेर छलफल भइरहेको बताए, सरकारले यस वर्ष यथास्थानमै बसेर दशैं मनाउन आग्रह गरेको छ, सबै पक्षसँग छलफल गरेर केही दिनभित्र नै निर्णय हुने छ ।’

यातायात व्यवसायी पनि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने की नगर्ने भन्ने छलफमा नै छन् । अघिल्ला वर्षहरुमा दशैँमा २० लाख मानिसहरु काठमाडौंबाट बाहिरिने गरेकोमा यसवर्ष जम्मा ५ लाख मात्रै बाहिरिने यातायात व्यवसायी बताउँछन् ।

 

प्रतिक्रिया