वीपी पार्क की विकृति पार्क ?

धरान । धरानवासीले पिउने पानीको मुहान सर्दु जलाधार क्षेत्रमा नेपाली कांग्रेसले निर्माण गरेको वीपी स्मृति पार्क अहिले विकृति पार्कको रुपमा परिचित हुन थालेको छ ।

धरान उपमहानगर पालिकाका नगर प्रमुख तिलक राईको संयोजकत्वमा निर्माण भएको वीपी स्मृति पार्कको व्यवस्थापन नहुँदा विभिन्न विक्रिति विसंगतिहरु आएको स्थानीयको भनाई छ ।

जलाधार क्षेत्रमा पार्क बनाउँदा खानेपानीको मुहान प्रदुषित भएको मात्र छैन, सर्दु खोला छेउछाउमा जाँड रक्सी विक्रि वितरण गर्ने होटल रेष्टुरेण्ट खोल्ने क्रम बढेको छ । खोलाका छेउछाउमा जथाभावी टहरो बनाउने, फोहोर मैला फाल्ने तथा विहानदेखि रातीसम्म जाँड रक्सीको विक्रि वितरणले जलाधार क्षेत्र असुरक्षित पनि बनेको छ ।

वीपी समृति पार्कमा यसै वर्ष प्रदेश सरकार र संघीय सांसद कोषको गरी झण्डै डेढ करोडको भौतिक संरचनाहरु निर्माण गरिएका छन् । तर, जलाधार क्षेत्र जस्तो संवेदनशिल क्षेत्रमा विना कुनै गुरु योजना, वातावरणीय प्रभाव मुल्याडकन नगरी पार्क बनाईएकोले खोलाले पनि स्वरुप परीवर्तन गरेको छ ।

वीपी स्मृति पार्क वरपर रहेका होटल रेष्टुरेण्ट तथा पार्क घुम्न आउने आन्तरिक पर्यटकहरुले जथाभावी फोहोर मैला खोलामा फालि दिने गरेकोले वातावरण प्रदुषण बढ्न गएको धरान उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष मणिराम राई बताउँछन् ।
यसवर्ष वीपी स्मृति पार्क र रक गार्डेन बनाउदा खोलाको ढुंगा चलाई दिँदा खोला साँघुरिएर पानीको धार बढ्न गई खानेपानीको पाईप राखिएको पुल मुनी ठुलो खाल्डो बनेको छ । यसले पुल समेत धरापमा पर्न थालेको छ ।

खानेपानीको नयाँ परियोजनाले करोडौं रुपैया खर्च गरी गत वर्ष निर्माण भएको सो पुल भत्किएमा खानेपानीको पाईपहरु क्षतविक्षत हुने खानेपानी संस्थानका कर्मचारीहरु बताउछन । ‘हामीले पानीको मुहानमा मान्छे छिर्न रोक्नुपर्छ भन्थ्यौं तर, यहाँका राजनीतिक दलहरु आफै पार्क बनाएर हज्जारौ मान्छे बोलाएर फोहोर गर्न उद्यत छन् ।’ नाम नछाप्ने शर्तमा खानेपानी संस्थानका एक अधिकृतले बताए ।

वीपी स्मृति पार्क क्षेत्रमा पिकनिक खान, घुमफिर गर्न धरान, इटहरी, विराटनगर, दमक, विर्तामोड देखि हज्जारौ पर्यटक आउने गरेका छन् । यसरी आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न आएका पर्यटकलाई आवश्यक खाने बस्ने तथा शौचालयको समेत व्यवस्था छैन । ‘पार्क बनाउनुअघि गुरु योजना बनाएर शौचालय, खाजा खानाका व्यवस्थित पसल, रेष्टुरेन्ट गर्नु पथ्र्यो, यहाँ त व्यवस्थापन समिति समेत रहेनछ ।’ इटहरीबाट आएका एक अनलाईन सञ्चारकर्मीले भने ।

धरान वडा नं. १३ र २० अन्तर्गत पर्ने सो पार्कको निर्माणपछि व्यवस्थापन समिति बनाउनु पर्ने भएपनि धरान उपमहानगरपालिकाका मेयरले खासै चासो नदिएको २० नं. वडाध्यक्ष राईले बताए । ‘यो पटक म नगर समितिमै कुरा उठाउँछु । यो पार्कलाई व्यवस्थित गर्न जरुरी छ ।’

यता वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले वीपी स्मृति पार्कका विषयमा विक्रिति विसंगति सँगै बढि नै राजनीतिकरण हुन थालेपनि आफु पार्क अवलोकन र निरीक्षणमा जानै छाडेको बताए ।

तस्वीरहरूः भरतराज शर्मा (गाेपाल)

प्रतिक्रिया