उपकुलपतिकाे नाममा स्वकीय सचिवकाे ‘कमाउ धन्धा’ले डुब्दैछ वीपी प्रतिष्ठान

  • भरतराज शर्मा (गोपाल)

धरान । सरकारले प्रदेश १ कोलागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय वेडको कोभिड–१९ अस्पताल निर्माण गर्न पठाएको बजेटमा समेत चरम भ्रष्टाचार भएको आशंका गरीएको छ ।

प्रदेश १ र संघिय सरकारबाट प्राप्त १२ करोड ५० लाख रकमबाट निर्माण गरीएको सय वेडको कोभिड–१९ अस्पताल निर्माण तथा सञ्चालनमा अनियमितता भएको आशंका छ । प्रतिष्ठानले कोभिड अस्पतालमा के कति खर्च गर्यो खुलाएको छैन । प्रतिष्ठानको लेखापरीक्षण महालेखा परीक्षक कार्यालयबाट हुने गर्छ । महालेखाले विगतको लेखा परीक्षणमा प्रतिष्ठानमा अनियमितता र बेरुजु हुने गरेको देखिएको छ ।

कोभिड अस्पताल निर्माणमा उपकुलपतिका सल्लाहकार दिलिप भट्टराईले स्थानीय व्यापारीसँग खाली विल लिएर तीन गुणा लागत बढाएर पेश गरेको आरोप लागेकोले भ्रष्टाचार भएको आशंका उब्जिनु अस्वभाविक हैन ।

उपकुलपति डा. ज्ञानेन्द्र गिरी, वीपीकाेस्वाविप्र

कोरोना अस्पतालका ९ वटा भेन्टिलेटरमा ६ वटा थन्किए

अहिले कोभिड अस्पतालमा जडान गरीएको ९ वटा भेन्टिलेटर मध्ये ६ वटा थन्किएर बसेपछि उपकरण खरिदमा पनि व्यापक चलखेल भएको शंका छ । प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितलाई भेन्टिलेटर छैन । प्रतिष्ठानमा कसैले कोभिडको विरामीलाई भेन्टिलेटर चाहियो भनेर सम्पर्क गरे भेन्टिलेटर खाली छैन भनिन्छ ।

धरानका मेडिकल सप्लायर्स चेतन अग्रवालको कम्पनीमार्फत खरिद गरिएका भेन्टिलेटरहरु जडान गर्दागर्दै समस्या आएपनि अहिलेसम्म मर्मत नभएको प्रतिष्ठानका एक चिकित्सकले बताए । ‘वारेण्टीसहित आएका भेन्टिलेटरहरुमा जडान गर्दै समस्या थिए । अहिले कोभिडको महामारी बढेको बेला भएका सबै भेन्टिलेटर विग्रँदा समस्या भयो ।’ ती चिकित्सकले भने ।

उपकुलपतिका स्वकीय सचिवको ‘कमाउ धन्धा’

उपकुलपतिका स्वकीय सचिव तथा सल्लाहकार दिलिप भट्टराईलाई ‘कमाउ धन्धा’ चलाएको आरोप छ । भट्टराईले अनावश्यक रुपमा खरिद र टेण्डर प्रक्रियामा हस्तक्षेप गरेको, कर्मचारी सरुवामा चलखेल गरेको भनेर कर्मचारी, चिकित्सकहरु समेतले विरोध गरिरहेका छन् । ज्यालादारी कर्मचारीहरुले ‘डेढ लाखे सल्लाहकार चाहिँदैन’ भन्दै नाराबाजी गरे । यसअघि धरानका एक व्यापारीले  स्वकीय सचिवले आफुबाट खाली विल लगेर लागतको तीन गुणा बढि विल बनाएर पैसा खाएकाे पत्रकार सम्मेलन नै गरेर आरोप लगाए ।

दिलिप भट्टराई, उपकुलपतिका स्वकीय सचिव

‘प्रतिष्ठानकाे गेस्ट हाउसलाई ‘ससुराली’ जस्ताे बनाएका छन् । सिंगै गाडी कब्जा गरेका छन् । फ्याकल्टीहरूलाई अफिसियल्ली काम गर्न फिल्डमा जाँदा गाडी छैन, स्वकीय सचिवलाई हाइलेक्स दिइएकाे छ ।’ एक कर्मचारी भन्छन् ।

कोभिड अस्पतालमा खरिद गर्ने काेराेना स्वास्थ्य सामग्री र उपकरणमा स्वकीय सचिव भट्टराईले स्थानीय सप्लायर्स चेतन अग्रवालसँग राम्राे ‘सेटिङ’ गरेका छन् । केहि समयअघि अस्पतालकी इन्चार्ज डा. कृष्णा पोखरेलले प्रतिष्ठान व्यवस्थापन र पदाधिकारीबाट अस्पताललाई चाहिनेभन्दा बाहिरको स्वास्थ्य सामग्री खरिद गर्न दबाब दिएको भन्दै राजिनामा नै दिएपछि उपकुलपति विवादित भएका थिए ।

१५-१७ लाखका दरले खरिद गरिएका ती भेन्टिलेटर विग्रिएको महिनौं भएपनि सप्लायर्सले बनाउन चासो दिएको थिएन । प्रतिष्ठानले पटक–पटक सप्लायर्सलाई ताकेता गरेपछि बुधबार मात्रै भेन्टिलेटर बनाउन इन्जिनियरहरु आएका छन् । ‘कोभिड अस्पतालमा भएका मध्ये ६ वटा भेन्टिलेटर विग्रिएकोमा आज सप्लायर्सले इन्जिनियरहरु पठाएको छ ।’ प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले बताए । उनले एमआइसियू अगाडी ३ वटा भेन्टिलेटरहरु बनाउने काम भइरहेको जिकिर गरे ।

प्रदेश १ कै सुविधा सम्पन्न कोभिड अस्पताल भनेर बैशाख १४ गते उपकुलपति डा. गिरीले प्रदेशका मुख्यमन्त्री ल्याएर तामझाम पूर्वक उद्घाटन गराएपनि अस्पताल सञ्चालन गरेनन् । धरानमा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीयले चर्को दवाव दिएपछि मात्र उनले साउन २९ गते झारा टार्न कोभिड अस्पताल सञ्चालनमा ल्याएका थिए ।

खरिद गरीएको भेन्टिलेटरको क्वालिटी हेर्ने खरिद तथा मुल्यांकन समितिले सदर गर्न सकेको छैन । त्यसो त कोभिड अस्पतालको सम्पूर्ण भुक्तानी गर्ने जिम्मा उपकुलपति डा. ज्ञानेन्द्र गिरी आफैंले लिएका छन् । अस्पतालमा खरिद हुने सामान्य सरसफाइका सामानमा समेत उपकुलपतिको इन्ट्रेष्ट जोडिने गरेको स्रोतको दावि छ । ‘उपकुलपति, उनका स्वकीय सचिव तथा भेन्टिलेटर सप्लायर्स चेतन अग्रवालको साँठगाँठ राम्रो रहेकोले भुक्तानी भइसकेको पनि हुन सक्छ । यसै भन्न सकिन्न ।’ अस्पताल प्रशासन भन्छ ।

प्रतिष्ठान स्रोतका अनुसार सप्लायर्सले स्पेशिफकेसन अनुरुप भेन्टिलेटर उपलब्ध नगराएकाले हतारहतार जडान गरीएको छ । कोरोना अस्पतालको नाममा विना टेण्डर करिब २ करोड ५० लाख मूल्यका स्वास्थ्य सामग्री खरिद गरिएको छ । स्थानीय चेतन अग्रवालको फर्मबाट विना टेण्डर २५ लाखको अस्पताल बेड, २० लाखको प्रयोगशाला उपकरण र हेमाटोलोजी एनालैजर, २० लाखको फुल्ली अटोमेटेड बायोकेमेष्ट्री एनालाइजर, लाखौंको इलेक्ट्रिक एनालाइजर, १२ वटा एसी, १५ वटा ३ केभिए युपिएस, १० केभिएको युपिएस तथा १५ इन्चको मनिटर तथा प्रयोगशालाका सामग्री लिइएको छ । यी सबै खरिद कार्य स्वकीय सचिव दिलिप भट्टराई मार्फत भएको स्रोतको दावि छ ।

स्वकीय सचिव भट्टराई भने माथिका आरोप स्वीकार्न चाहँदैनन्, उल्टै विज्ञप्ति निकालेर कर्मचारी र चिकित्सकलाई तसाईरहेका छन् । प्रतिष्ठानकाे इन्जिनियरिङ विभागका विभागीय प्रमुख मदन शाहलाई उनले काम नगरेकाे, भनेकाे नमानेकाे भन्दै प्रकृया विपरित हटाए ।  इ. शाहले त्यसकाे विराेध गर्दा उल्टै धम्की आएपछि प्रहरीकाे शरणमा समेत जानु परेकाे थियाे । ‘अहिले उपकुलपतिका स्वकीय सचिवलाई कोरोना आउनु ‘दशैं’ आए सरह भएको छ । जनता काेराेनाकाे त्रासमा छन्, उपकुलपतिका स्वकीय सचिवलाई त्यसकै आडमा ‘कमाउ धन्धा’ चलाईरहेका छन् ।’ प्रतिष्ठान स्राेत भन्छ ।

पदाधिकारीका कुरै सुन्दैनन् उपकुलपति

प्रतिष्ठानका ‘मियो’ उपकुलपतिलाई कर्मचारी, चिकित्सकको कुरा सुन्ने फुर्सद पनि छैन । करिब दुई महिना यता उनले राम्ररी कार्यालयमा बसेर काम गरेका छैनन्, प्रतिष्ठानको अनुगमन गरेका छैनन् । काेराेना भयाे भनेर उनी कार्यालयमा खासै गएका छैनन् । तर, कर्मचारी सरूवा गर्ने, नियुक्ति गर्ने तथा खरिदका फायलहरू सरद गर्न उनलाइ काेराेनाले राेक्न सकेकाे छैन ।   उनीक्वाटरमै बसेर एक लाैटी रूपमा काम गर्छन् । उनकाे कार्यालयमा स्वकीय सचिवकाे हालिमुहाली छ ।

प्रतिष्ठानका चार पदाधिकारीहरू खम्बा हुन् । तर, उपकुलपतिले अस्पताल निर्देशक, रजिष्ट्रार तथा शिक्षाध्यक्षसँग कुनै सल्लाह लिँदैनन् । चार पदाधिकारीहरू विच दुइ महिना यता बैठक समेत बस्न सकेकाे छैन । उनी पदाधिकारीहरु भन्दा बाहिरका व्यापारीसँग प्रतिष्ठान कसरी चलाउने सल्लाह लिन्छन् ।

डा. माेहनचन्द्र रेग्मी, रजिष्ट्रार, वीपीकाेस्वाविप्र

यता प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी कोभिड अस्पतालको व्यवस्थापन र खरिदको अधिकार आफुसँग नरहेको बताउँछन् । ‘यो बारे मलाई खासै थाहा हुँदैन, उपकुलपति र हस्पिटल डाइरेक्टरसँग बुझ्नु होला ।’ उनले भने । उनले पदाधिकारीहरू विच वेमेल भएकाे सन्दर्भमा उपकुलपतिकाे वचाउ गरे । प्रतिष्ठानकाे सर्वेसर्वा उपकुलपति भएकाे तथा उनकाे निर्देशन अनुसार आफुहरू प्रतिष्ठान सुधार्नकै लागि लागि परेकाे बताए । ‘हामी पदाधिकारी विच त्यस्ताे तिक्तता छैन, काेराेना संक्रमणका कारणले नियमित भेटघाट नभएकाे हाे, आवश्यक सरसल्लाह फाेन मार्फत समेत लिने दिने गरेका छाैं ।’

हस्पिटल डाइरेक्टर डा. गौरिशंकर शाह मोवाइल अफ गरेर बसेका छन् ।

कोभिड–१९ का विरामीका लागि मात्रै भनेर १५ आइसीयू बेड, ८ भेन्टिलेटर, प्रयोगशाला, भिडियो एक्सरे, अप्रेशन थिएटर, एक्सरे, १५ शैय्याको हाइ डिपेन्डेन्सी युनिट, अक्सिजन पाइपलाइन र आकस्मिक कक्षसहित १०० शैयाको अस्पताल निर्माण गरिएको भएपनि व्यवस्थापन कमजोर हुँदा कोरोनाका विरामीले सास्ती भोगेका छन् ।

एकलाखे सल्लाहकार चाहिँदैन भन्दै नाराबाजीमा उत्रिएका वीपीका कर्मचारीहरू, तस्विरः भरतराज शर्मा (गाेपाल)

नाम मात्रका उपकुलपति

उपकुलपतिलाई काम कम गफ ज्यादा गर्ने उपकुलपतिका रुपमा अर्थ्याउन थालिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निगाहमा उपकुलपति भएर आएका डा. गिरीले प्रतिष्ठानलाई दक्षिण एशियाकै सर्वोत्कृष्ट संस्था बनाउने उद्घोष गरेपनि उनका स्वकीय सचिव दिलिप भट्टराई हावी हुँदा विवादको घेरामा फस्दै गएका छन् ।

उपकुलपतिको काम स्वकीय सचिवले गर्न थालेपछि प्रतिष्ठान अस्तव्यस्त भएको छ । कर्मचारी मात्र हैन, शिक्षक र सिनियर चिकित्सकहरु समेत स्वकीय सचिव र उपकुलपतिको कार्यशैली प्रति असन्तुष्ट छन् । दिनहुँ उपकुलपति र उनका स्वकीय सचिवका विरूद्ध नाराबाजी भइरहेकाे छ । फ्याकल्टी, कर्मचारीहरू समेत आन्दाेलित छन् ।

स्वकीय सचिवले उपकुलपति जस्तो गरिमामय पदमा रहेको व्यक्तिलाई नचाइरहेको प्रतिष्ठानभित्रै चर्चा छ । गएको ४४ औं सिनेटदेखि प्रतिष्ठानको निती निर्माण तथा आर्थिक प्रशासनमा स्वकीय सचिवको हस्तक्षेप बढेको देखिन्छ । उपकुलपतिले स्वकीय सचिववाहेक प्रतिष्ठानका कोही पदाधिकारी र कर्मचारीलाई विस्वास नगर्दा पदाधिकारी र कर्मचारी विचपनि अन्तरद्वन्द्व बढ्दो छ । जसले प्रतिष्ठानलाई दिर्घकालिन रुपमा असर परेको बुझ्न सकिन्छ ।

कहाँ गए नागरिक समाज

वीपी प्रतिष्ठान स्वभाविक रुपमा धरानको गहना हो । विगतमा प्रतिष्ठानभित्र हुने सानो आन्दोलन र होहल्लामा पनि धरानका नागरिक समाज र राजनीतिक दलहरुको प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेप हुने गर्दथ्यो । तर, तीन महिना यता नयाँ उपकुलपति र उनका स्वकीय सचिवले प्रतिष्ठानको नीतिनियममा ‘धोती’ लगाउँदा उनीहरु आँखा चिम्लेर बसेका छन् ।

नेकपा धरानका इन्चार्ज चोत्लुङले पदाधिकारीहरु विचको आन्तरिक कलहले प्रतिष्ठान धरासायी बन्दै गएको बताउँछन् । धरानबासी कोभिडको महामारीमा जुधिरहेको बेला प्रतिष्ठानमा भेन्टिलेटर नहुनु दुखद् भएको उनको भनाई छ । उनले प्रतिष्ठानका पदाधिकारीहरुलाई तत्काल भेन्टिलेटर मर्मत गर्न भनेका छन् ।

केही बुद्धिजिवीहरुले धरानका नागरिक समाज आजकल दल तथा विचारधाराबाट विभक्त भएको तर्क गर्छन् । ‘वीपी प्रतिष्ठानको विषयमा मात्र हैन आजकल धरानका नागरिक समाज र राजनीतिक दललाई अन्य आम चासोका विषयमा पनि बोल्ने फुर्सद छैन । नागरिक समाज अब दलको भातृ संगठन भइसके । केहि नागरिक समाजकाे पगरी गुथेकाहरू वीपी प्रतिष्ठानबाटै गुजारा चलाउँछन् । त्यहि भएर विकृति विसंगतिका विरूद्ध बाेल्न हिच्किचाउँछन्  ’ धरानबासीको तर्क छ ।

प्रतिक्रिया