‘लोकतन्त्रमा सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के आशा गर्ने ?’

काठमाडौं । २४ औं दिन देखि त्रिवि शिक्षण अस्पतालको शैयामा आमरण अनसनमा रहेका सत्याग्रही नेता डा. गोविन्द केसीको ज्यान बचाउन कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारसँग माग गरेका छन् ।

डा. कोइरालाले डा. केसीको माग छिटोभन्दा छिटो संवोधन गर्न सरकारलाई आग्रह गरेका हुन् ।

उनले डा. केसीका जायज मागप्रति राज्य कठोर बनेको आरोप लगाउँदै लोकतन्त्रमा सत्याग्रहीको आवाज नसुनिनु आफैंमा गलत भएको बताएका छन् ।

‘ डा गोविन्द केसीको मागप्रती राज्य किन यति निर्मम र कठोर ? लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ?’ डा. कोइरालाले भनेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्यवस्था गम्भिर बन्दै गएपनि सरकारले उनका माग संवोधन गर्ने तदारुकता देखाएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नेकपाको सचिबालयमा डा. केसीका मागहरु संवोधन गर्न र अनसन स्थगित गर्न सचिबलाई पठाएको बताउँदै अनसन स्थगित गरे वार्ता गर्न सकिने बताएका थिए । तर, डा. केसीले आधिकारिक वार्ताटोलीसँग मात्र कुरा गर्ने भनेका थिए ।

डा. केसीको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गएको उनको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् । डा. केसीको रक्तचाप घटेर ७०/८० पुगेको छ । उनको शरिरमा थकान, रिंगटा लाग्ने, मुटुको धड्कन अनियमित, मांशपेशी दुखाईको समस्या रहेको चिकित्सकहरुले बताएका छन् ।

उनको शरिरमा अक्सिजनको मात्र घटेको छ । उनले अहिलेसम्म नर्मल स्लाइन पानी मात्र लिइरहेका छन् ।

यसअघिका अनसनहरुमा डा. केसीलाई इलेक्ट्रोलाइटस् दिइने गरिएकोमा यसपटक उनले त्योपनि लिन मानेका छैनन् । साथै उनले आइसियू समेत अस्विकार गरेका छन् ।

प्रतिक्रिया