महाराजगञ्जको एक गोदाममा प्रहरीकाे छापा : म्याद गुज्रेको ३ करोड बराबरको सामान बरामद

काठमाडौँ । महाराजगञ्जको जोडियाक मार्केटिङ डिस्टुविउटरको गोदाममा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले छापा मारी ठूलो मात्रामा सामान बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरका अनुसार गोदाम सञ्चालकसहित तीनजना पक्राउ परेको बताए ।

एसपी राठौरले पक्राउ पर्नेमा सञ्चालक जितेन्द्रकुमार लोइया, लेखापाल मुकेश रौनियार र अर्का कर्मचारी अनिल मगर रहेका छन् । उनीहरूलाई कालो बजारी ऐनअनुसार मुद्दा चलाइने एसपी राठोरले जानकारी दिए ।

गोदामबाट बिस्कुट, तेल, क्यानको टुनाफिस,डाइपर टिस्यु पास्ता, चकलेट , पेपरलगायत ३ करोड बराबरको म्याद गुज्रेको सामना पनि बरामद भएको छ । गोदामबाट उनीहरूले नयाँ प्याकेटमा पुरानो म्याद सकिएका सामान बाहिर पठाउने गरेको प्रहरीको भनाइ छ ।

परिसर काठमाडौँ, वाणिज्य आपूर्ति र जिल्ला प्रशासनको टोलीले सामानको लिष्टिङ र मुचुल्का उठाउने काम गरिरहेको छ ।

केही दिन अगाडि पनि प्रहरीले कलंकीस्थित गोदाममा छापा हानी ठूलो परिमाणमा सामान बरामद गरेको थियो । पक्राउ परेकाहरू सामान्य तारिकमा छुटेपछि सरोकारवालाहरू चिन्तित बनेका छन् ।

प्रतिक्रिया