बैंकर तथा समाजसेवी पौड्याल नबिल बैंकको अध्यक्ष, बैंकिङ क्षेत्रमा ३४ वर्षको अनुभव

काठमाडौं । नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।

२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए ।

अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याएकाे योगदान राम्रो छ । उहाँको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको छ । यसले उहाँ सक्षम बैंकर रहेको पनि पुष्टि गर्छ ।

यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहेका छन् । उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए । त्यसपछि, सन् २०१६ सम्म निरन्तर सञ्चालकमा नियुक्त हुँदै आएका थिए । बैंकलाई आजको अवस्थामा ल्याइपुर्याउन उनको पनि महत्वपूर्ण भूमिका छ ।

अध्यक्षको पदावधि सकिएसँगै बैंकले नयाँ अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याललाई नियुक्त गरेको छ । आज (मंगलबार) बसेको बैंक सञ्चालक समितिको बैठकले उनीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

२०७४ मंसिर १५ गतेदेखि  सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको हाे । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत हुन ।

विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेका उनी सफल बैंकरसँगै समाजसेवीका रूपमा समेत परिचित छन ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । उनलको संलग्नता स्थापनाकालदेखि नै थियो ।

सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उनले बैंकिङ करिअर सुरु गरेका थिए । त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगेका थिए । एनएमबीमा उनले १७ वर्ष अनवरत सेवा गरेका छन् ।

१४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनी ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन् । विगतमा आफूले काम गरेका हरेक क्षेत्र तथा बैंकमा आज पनि उनको योगदानको उच्च कदर हुने गर्छ ।

होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरे । त्यही अनुभवका आधारमा उनी हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरे । त्यहाँ विभिन्न पदमा रहेर करिब १४ वर्ष काम गरेको उनीसँग अनुभव छ ।

समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए । दशकौंको बैंकिङ अनुभव र दक्षताले उनलाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको छ । बैंकले उनको नेतृत्वमा नयाँ उचाई प्राप्त गर्ने अपेक्षा राखेको छ ।

प्रतिक्रिया