मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरू (भिडियोसहित)

प्रदेश ५ को राजधानी दाङ, नाम लुम्बिनी सर्वसम्मतले पारित
प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी सर्वसम्मतले पारित भएको छ । प्रदेश सभाको आजको बैठकले सर्वसम्मतमा प्रदेश ५ को राजधानी र नाम लुम्बिनी तोकेको हो ।
मङ्गलवार भएको मतदान प्रक्रियामा राजधानी दाङको प्रस्तावको पक्षमा ६९ सांसदले मतदान गरेका थिए भने विपक्षमा १३ सांसदले मतदान गरेका थिए । त्यसपछि प्रदेशको नामको प्रस्तावमा भएका मतदानमा पक्षमा ७९ सांसदले मतदान गरेका थिए भने ४ सांसदले विपक्षमा मतदान गरेका थिए । मतदानमा ८२ सांसद उपस्थित थिए ।
सभामुखले मतपरिणाम सुनाउँदै दुई तिहाई बहुमतबाट प्रदेशको राजधानी र नाम सर्वसम्मत पारित भएको घोषणा गरे ।
प्रदेशसभामा कानुनमन्त्री कुलप्रसाद केसीले गत शुक्रवार दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए ।
परराष्ट्र प्रवक्तामा सेवा लम्साल
परराष्ट्र मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव सेवा लम्साललाई दिएको छ ।
हालै पाकिस्तानको इस्लामावादस्थित नेपाली नियोगबाट ४ वर्षे राजदूत कार्यकाल पूरा गरेर फर्केकी लम्सालले न्यूयोर्क मिसनमा समेत काम गरेकी छिन् ।
यसअघि परराष्ट्र प्रवक्ता रहेका सहसचिव भरतराज पौड्यालले वरिष्ठता आधारमा मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी पाएपछि रिक्त प्रवक्ता स्थानमा लम्साललाई लगिएको हो ।
मङ्गलवार थपिए १, ५५१ सङ्क्रमित, उपत्यकाका मात्रै १०१७ जनामा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० हजार ८१४ पुगेको छ ।
मङ्गलवार काठमाडौँ उपत्यकामा मात्रै १ हजार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३४० जना डिस्चार्ज भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६७ हजार ५४२ पुगेको छ ।
यस्तै, सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ७०९ रहेको छ भने आइसीयूमा २४३ र भेन्टिलेटरमा ४० सङ्क्रमित रहेका छन् ।
बिरामीहरू गेटबाट नफर्काउन अस्पतालका निर्देशकहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिरामीहरूलाई गेटबाट नफर्काउन निर्देशन दिएका छन् । देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग भर्चुअल माध्यमबाट छलफल गर्दै मन्त्री ढकालले सो निर्देशन दिएका हुन् ।
पछिल्लो समय कतिपय अस्पतालहरूले बिरामीलाई गेटबाटै फर्काउने गरेको गुनासो बढिरहेका बेला स्वास्थ्यमन्त्री ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न समेत निर्देशन दिएका थिए ।
साथै उनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समस्या तथा मन्त्रालयसँगको अपेक्षाबारे पनि जानकारी लिए । चाडबाडको बेला हुने भीडभाडले कोरोना सङ्क्रमणको जोखिम अझै बढ्ने सम्भावना औँल्याउँदै मन्त्री ढकालले उच्च मनोबलका साथ काम समेत भने । स्वास्थ्यकर्मीहरूको मनोबल उकास्न सरकारले कुनै कसर नराख्ने उनको भनाइ छ ।
‘प्रदेशको राजधानी सर्याे भन्दैमा चिन्ता लिनु पर्दैन, बुटवललाई पर्यटकीय राजधानी बनाउँछौँ’
प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राजधानी सर्यो भनेर चिन्ता नमान्न बुटवलबासीहरुलाई आग्रह गरेका छन् ।
आज (मङ्गलवार) को प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री पोखरेलले कुनै एक क्षेत्र विशेषमा केन्द्रित भए प्रदेश ५ को समग्र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै राजधानी दाङको भालु वाङ नै उत्तम रहेको दाबी गरेका हुन् ।
सिकाइ निरन्तरतालाई प्राथमिकता दिन शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन आह्वान गरेका छन् ।
विश्व शिक्षक दिवसका अवसरमा विश्वस्तरमा भर्चुअलरुपमा आयोजित कार्यक्रमको दक्षिण एशियास्तरीय समूहगत छलफलमा नेपालका तर्फबाट सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।
ज्ञानको हस्तान्तरण र निर्माणमा शिक्षकको महत्त्वपूर्ण भूमिका हुने तथा गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक आवश्यक पर्ने भएकाले उत्कृष्ट नतिजा दिन हर–हमेसा आफूलाई अब्बल साबित गर्न शिक्षक समुदायमा मन्त्री पोखरेलको आग्रह छ ।
मन्त्री पोखरेलले कोरोना महामारीपछि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइमा निरन्तरता दिइएको र यसमा शिक्षक समुदायले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पारे ।
‘आवेगमा गरिएको व्यवहारले प्रतिपक्षको भूमिका कमजोर बनाउँछ’ गगन थापा
प्रदेश ५ को राजधानी दाङ सार्ने विषयलाई लिएर काँग्रेस सांसदहरूले सोमबार प्रदेशसभामा देखाएको ‘ताण्डव’ प्रति काँग्रेस नेता गगन थापाले संसदीय मर्यादा र प्रतिष्ठा विपरीत भएको बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता थापाले संसदमा आफ्नो फरक मत राख्ने र विरोध गर्ने अनेकन् तरिका हुँदा हुँदै आफ्नै पार्टीका प्रदेश सांसदहरूले गरेको तोडफोड गलत भएको बताए ।
दाङ राजधानी तोक्न लागिएकोमा असन्तुष्ट केही काँग्रेस सांसदहरूले हिजोको प्रदेशसभा बैठकमा कुर्सी तोडफोड गरेका थिए । उनीहरूलाई काँग्रेसले कारबाही गर्ने चेतावनी दिएको छ ।
आज सामान्य अङ्कले बढ्यो शेयर बजार, कारोबार कति ?
आज शेयर बजार सामान्य अङ्कले बढेको छ । साताको पहिलो दिन १४.७१ अङ्कले बढेको बजार हिजो ३.६३ अङ्कले घटेको थियो भने आज पुनः ४.१७ अङ्कले बढेको हो । आज ०.२६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५८६.२९ अङ्कमा उक्लिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार आज १ सय ९५ कम्पनीका ९५ लाख ९१ हजार १ सय २३ कित्ता शेयर किनबेच हुँदा २ अर्व ४२ करोड ४५ लाख २८ हजार १ सय २० रुपियाँ बराबरको कारोबार भएको छ ।
सडक दुर्घटनामा परेका क्रिकेटर नाजिबको निधन
सडक दुर्घटनामा परेका अफगानिस्तानका क्रिकेटर नाजिबउल्लाह ताराकाइको निधन भएको छ । अफगानिस्तानको नागहरमा गत शुक्रवार दुर्घटनामा परेका नाजिबउल्लाहको मङ्गलवार निधन भएको हो ।
अफगानिस्तान क्रिकेट बोर्डले २९ वर्षीय ओपनर ब्याट्सम्यानको निधन भएको पुष्टि गरेको छ । नाजिबउल्लाहलाई बाटो काट्ने क्रममा कारले ठक्कर दिएको थियो । नाजिबउल्लाहले सन् २०१४ मा अफगानिस्तानबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई
यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।
मङ्गलवार रोयल स्विडिस एकेडेमी अफ साइन्सले बेलायतका रोजेर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
ब्ल्याकहोल र सापेक्षवादको सिद्धान्तको अन्तरसम्बन्ध पत्ता लगाउने बेलायती वैज्ञानिक रोजर पेनरोजलाई आधा र ग्यालेक्सीबारे अध्ययन गरेका गेन्जेल र घेजलाई बाँकी आधा गरी संयुक्तरुपमा तीन जनालाई यो पुरस्कार प्रदान गरिएको हो ।








