अमेरिकी डलर ठगी धन्दा : कागजको बिटोसँग १० लाख साटेर फरार गिरोह पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सस्तो मूल्यमा अमेरिकी डलर सटही गरिदिन्छु भन्दै ठगी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । डलर भन्दै नेपाली १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला साबिक गढी गा.बि.स. वडा नम्बर ४ हाल बाह्रबिसे नगर पालिका वडा नम्बर ५ बस्ने ३८ वर्षीय श्रीखण्ड तामाङ, सोही ठाउँ घर भई काठमाडौँ जिल्ला बुढानीलकण्ठ–२ मा डेरा गरी बस्ने हर्क तामाङ, बाह्रबिसे नगरपालिका–५ का ४७ वर्षीय चैते भनिने बुद्धिबहादुर तामाङ र ६० वर्षीय गोविन्द तामाङ रहेका छन् ।
श्रीखण्ड तामाङ बनेपा नगरपालिका–८ बाट असोज १८ गते आइतबार पक्राउ परेका थिए। उनकै बयानका आधारमा प्रहरीले गिरोहका अन्य सदस्यहरूलाई पक्राउ गरेको काभ्रेका प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए । हर्कलाई आफ्नै डेराबाट आइतबार साँझ नै पक्राउ गरिएकाे थियो । चैते भनिने बुद्धि र गोविन्दलाई सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका–५ साँगाचोकबाट पक्राउ गरिएकाे प्रवक्ता थापाले बताए ।
सस्तो मूल्यमा अमेरिकी डलर सटही गरी दिन्छु भनी ठगी गर्ने गिरोहलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को ठगी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएको छ । नुवाकोट जिल्ला साबिक गाँउखर्क गाविस वडा नम्बर ८ हाल दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ को कुटुमसाङ बस्ने पेन्जोम शेर्पालाई २०७७ असार २० गते अपरिचित व्यक्तिले फोन गरी अमेरिकी डलर १७ हजार भेट्टाएको र सस्तो मूल्यमा उपलब्ध गराउने बताएका थिए ।
पटक पटक फोन सम्पर्क गरी विभिन्न किसिमको प्रलोभन देखाई मोल मोलाई गरी २०७७ साउन १२ गते दिउँसो १२ बजे काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ को लामिडाँडामा नुवाकोटबाट बोलाई भेट गरी तत्काल १० लाख दिई बाँकी पैसा पछि दिने भनी रुमालमा बाँधिएको अमेरिकी डलर भनिएको पोको दिई तत्काल पोको नखोल्नुस् अरूले देख्यो वा प्रहरीले थाहा पाएमा तपाई र हामीलाई अप्ठ्यारो पर्छ भन्दै १० लाख लिई फरार भएको र उक्त डलर भनी दिएको रुमाल खोली हेर्दा रुमाल भित्र काटिएको कागजको बिटा मात्र फेला परेको भन्दै शेर्पाले प्रहरीकोमा जाहेरी दिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।
उक्त गिरोहबाट काठमाडौँ उपत्यकालगायत अन्य जिल्लाहरूमा समेत अनेकौँ किसिमका घटना घटाई फरार रहेको प्रारम्भिक रूपमा खुल्न आएको हुँदा यस्ता प्रकृतिका घटनाका पीडितहरूलाई प्रहरी कार्यालयमा सम्पर्क हुन आह्वान समेत गरेको छ ।केही दिनअघि महानगरीय प्रहरी परिसर भक्तपुरले पनि डलर साट्ने बहानामा लुट्ने बाह्रबिसेका दुई वटा समूहलाई पक्राउ गरेको थियो । यही गिरोहले अन्य व्यक्तिलाई पनि ठगेको हुनसक्ने प्रहरी आशङ्का छ । त्यसैले यस प्रकारका घटना कसैसँग भएको भए, खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ । थप अनुसन्धान जारी छ ।









