संकटा परिसरमा ‘क्वाःपा द्यो छेँ’ को शिलान्यास, लागत ९९ सय लाख ३८ हजार

काठमाडौं । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज संकटा परिसरमा रहेको ‘क्वाःपा द्यो छेँ’ को शिलान्यास गरेका छन् । २०७२ सालको भूकम्पले जीर्ण बनेपछि यो संरचना पुननिर्माण गर्नुपर्ने अवस्थामा पुगेको थियो । यसको पुननिर्माण ‘संकटा संरक्षण समिति’ ले ९९ लाख ३८ हजार ६२२ रुपैयाँ लागतमा गर्नेछ ।

‘काठमाडौंको पहिचान भनेकै स्थानीय मूर्त अमूर्त सांस्कृतिक सम्पदा हुन् । यी सम्पदाको संरक्षण गर्ने । महानगरले उपलब्ध गराउँछ, ’ शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा प्रमुख शाक्यले भने, ‘हाम्रा सम्पदा बनाउने पैसा हामीसँगै छ । कसैसँग हार गुहार गर्नुपर्दैन । यो संरचनाको पुनर्निर्माण संकटा संरक्षण समितिले गर्नु झनै सकारात्मक कुरा हो । यसले महानगर, स्थानीय र सम्पदाबीचको त्रिपक्षीय सम्बन्ध दिगो बनाउँछ ।’

द्यो छेँ १७ औं शताब्दीमा ठूलो आँगनसहित बहाल शैलीमा निर्माण भएको संरचना मानिन्छ । इ. सं. १९३४ मा यसको पुननिर्माण भएको अभिलेखमा देखिन्छ । बुद्ध धर्माबलम्बीले सञ्चालन गर्ने धार्मिक गतिविधिसँग यो भवन सम्बन्धित छ । भवनभित्र र बाहिर बुद्धका बिभिन्न रुपका मूर्ति राखिएका छन् । ३ तले यो भवन नेपाली शैलीको घर हो । यसलाई मौलिक निर्माण सामाग्रीको प्रयोग गरेर बनाइनेछ ।

प्रतिक्रिया