आक्रोशित सांसदलाई मुख्यमन्त्री पोखरेलको सान्त्वना : ‘बुटवललाई वित्तीय राजधानी बनाउँछु’

काठमाडौं । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्ट नेकपाका सांसदहरुलाई बुटवललाई वित्तीय राजधानी बनाउने आश्वासन दिएका छन् ।

दाङको भालुवाङलाई प्रदेशको प्रशासनिक राजधानी बनाउन तम्सिएका प्रधानमन्त्री ओलीका प्रिय पात्र मुख्यमन्त्री पोखरेलले बुटवललाई वित्तीय र पर्यटकीय राजधानी बनाउने प्रतिबद्दता जनाएका हुन् ।

दाङको भालुवाङ (राप्ती उपत्यका)लाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएलगत्तै सत्तारुढकै १४ सांसदहरुले फरक मत जाहेर गरेका थिए भने प्रतिपक्षीहरुले बैठक नै अवरुद्ध गरेका थिए ।

बैठकमा मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता पोखरेलले भालुवाङमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने समेत बताए ।

त्यहाँका नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालका अनुसार आफूहरुले पार्टीको निर्देशनअनुसार नै सरकारी प्रस्तावको पक्षमा मत राख्नेछन् ।

यस्तै कांग्रेस सांसदहरुले मुख्यमन्त्रीलाई नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बैशाखी टेकेर राजधानी दाङ पुर्याएको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया