घरघरमा कोरोना पुग्नबाट रोक्न के गर्ने ?

काठमाडौं । सरकारको चार महिनाको लकडाउन र एक महिनाको निषेधाज्ञालाई पूरै असफल सावित गर्दै नेपालमा तीव्र गतिमा कोरोना फैलिँदै गएको छ । पछिल्लो एक महिनायता संघीय राजधानी काठमाडौंसहित देशका मुख्य सहरी क्षेत्रका समुदायस्तरमा पुगेको कोरोनाले भयावह रुप लिन थालेको हो ।

नेपालमा मृतक संख्या विश्‍वका अन्य देशको तुलनामा कम भए पनि संक्रमितको संख्या भने आकासिँदै गएको छ । एक सातायता नेपालमा कोरोना संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । देशभर दैनिक २ हजार भन्दा धेरै संक्रमित भेटिँदा काठमाडौंका तीन जिल्लामै दैनिक १ हजारको हाराहारीमा संक्रमित भेटिन थालेका छन् ।

चीनलाई उछिन्यो
कोरोना संक्रमितको आँकडाको कुरा गर्ने हो भने नेपालले अब चीनलाई पनि उछिनेको छ । चीनको वुहानमा कोरोनाले महामारीको रुप लिइरहँदा नेपालमा अवस्था सामान्य थियो तर, अहिले नेपालमा काेराेना तीव्र रुपमा फैलिएको छ भने चीनको अवस्था सामान्य भइसकेको छ ।

आइतबारसम्मको विवरण अनुसार नेपालमा कुल संक्रमितको संखया ८६ हजार ८ सय २३ छ, चीनमा भने ८५ हजार ४ सय ५० संक्रमित रहेको विश्‍व स्वास्थ्य संगठनले जनाएको छ । तर नेपालमा भन्दा चीनमा कोरोनाबाट धेरैले ज्यान गुमाएका थिए । चीनमा कोरोनाबाट ४ हजार ६ सय ३४ जनाले ज्यान गुमाएका थिए भने, नेपालमा आइतबारसम्म मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । खराब देशको सूचीमा चीन ४५ औं स्थामा रहेको छ भने नेपाल ४४ औं स्थानमा छ ।

संक्रमण रोक्न के गर्ने ?
सरकारले ढिला नगरी नियन्त्रणका थप उपाय अपनाउनुपर्ने जनस्वास्थ्यविज्ञहरुले बताएका छन् । ह्याम्स अस्पतालमा कार्यरत जनस्वास्थ्यविज्ञ डा. किरणराज पाण्डेले अहिले चिन्ताजनक देखिएको यो अवस्था हिउँदको अन्त्यसम्म जारी रहने सम्भावना रहेको दावी गरे ।

सङ्क्रमितको अहिलेको अवस्थाले समुदाय स्तरमा तीव्र गतिमा सङ्क्रमण फैलिरहेको र नियन्त्रणका लागि जनस्वास्थ्य स्वास्थ्य सङ्कटकाल लागु गर्न ढिला भइसकेको स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारी बताउँछन् । सरकारले कोरोना घरघरमा पुग्नबाट रोक्न तत्काल जनस्वास्थ्य सङ्कटकाल लागु गर्नुपर्ने र कोरोनाभाइरससम्बन्धी सामाजिक संहिता लागु गर्नुपर्ने उनको सुझाव छ ।

सङक्रमित व्यक्ति अहिले नै जेनेरल वार्डमा धेरै रहेको र उनीहरूको अवस्था बिग्रिएपछि आइसियूमा लैजान ठाउँ अपुग हुन थालेको उनको चिन्ता छ । उनका अनुसार मानिसको हिँडडुल धेरै हुने दशैँ, तिहार, छठजस्ता चाडबाडले पनि सङक्रमित बिरामीको सङख्या बढ्नेछ ।

सरकारले सुझाव नमानेको विज्ञको गुनासो
स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीले सरकारले प्रयास गरिरहेको भए पनि पछिल्लो समय आफूहरूले दिँदै आएका सल्लाह नमानेको बताएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेका नियम पालना नगर्ने संस्था वा व्यक्तिलाई कानुनी दायरामा ल्याउने खालको व्यवस्था पनि हुनुपर्ने उनले बताए ।

‘स्याल मार्न जाँदा बाघ मार्ने हतियार हुनुपर्छ भन्ने उखान नै छ । अहिले सरकारसँग स्याल मार्नका लागि स्याल मार्ने नै हतियारमात्रै देखियो,’ डाक्टर तिवारीले भने, ‘हामीहरू अगाडि रहेर कोरोनाभाइरसलाई पछाडि राखेर नियन्त्रण गर्नुपर्नेमा स्थिति कोरोनाभाइरस हामीभन्दा अगाडि भएजस्तो देखिसक्यो ।’

यसका लागि सरकारले अहिले जस्तो प्रहरीलाई सडकमा मात्रै नभइ समुदायमै खटाउनुपर्ने उनी बताउँछन् । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि सरकारले प्रतिकार्य योजना ल्याएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाई छ । –बीबीसीको सहयोगमा

प्रतिक्रिया