चेन्नईको शानदार कमब्याक, पञ्जाबमाथि १० विकेटको जित

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको आईपीएल टी ट्वान्टी क्रिकेटमा साविकको उपविजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । दुबईमा आइतबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले जित निकालेको हो ।
पञ्जाबले दिएको १७९ रनको लक्ष्य पछाएको चेन्नईले १७।४ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पुरा गरेको थियो । चेन्नईका लागि ओपनर शेन वाटशनले ५३ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै अविजित ८३ रन बनाए भने फाफ डुप्लेसीले ५३ बलमा ११ चौका र एक छक्कासहित अविजित ८७ रन बनाएका थिए ।
लगातार तीन खेल हारेको चेन्नईले शानदार कमब्याक गर्दै पञ्जाबमाथि १० विकेटको जित हासिल गरेको हो । यसअघि टस जितेर पहिला ब्याटिंग रोजेको किंग्स इलेभेन पञ्जाबले २० ओभरमा ४ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।
पञ्जाबका लागि कप्तान केएल राहुलले सर्बाधिक ६३ रन बनाएका थिए भने निकोलस पुरनले ३३, मनदीप सिंहले २७, मयंक अग्रवालले २६, सर्फरोज खानले अविजित १४ र ग्लेन म्याक्सवेलले अविजित ११ रन बनाएका थिए । चेन्नईका बलर श्रदुल ठाकुरले २ विकेट लिए भने रविन्द्र जडेजा र पियुष चावलाले एक एक विकेट लिए ।








