मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

नेकपा सचिवालय बैठक आज पनि स्थगित
आज बस्ने भनिएको सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित भएको छ । नेकपा महासचिव विष्ण पौडेल असन्तुष्ट बनेपछि बैठक स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

प्रदेश नं. ५ को राजधानी बुटवल हुनुपर्ने अडान राख्दै आएका महासचिव पौडेलले आफूसँग आवश्यक परामर्श नगरेको भन्दै असन्तुष्ट जनाएपछि आजको लागि तय गरिएको बैठक स्थगित भएको ती सदस्यले बताए ।

पौडेल समूहको अल्टिमेटम : कांग्रेसमा छलफल शुरु, भोलिको बैठक स्थगित
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवालाई दिएको अल्टिमेटमबारे छलफल शुरु भएको छ । आफूले उठाएको माग सम्बोधन गर्न पार्टी सभापतिलाई दिएको एक हप्ते अल्टिमेटमबारे कांग्रेसमा छलफल शुरु भएको हो ।

मागबारे देउवाले शनिबारदेखि आफू निकटका नेता तथा केन्द्रीय नेताहरुसँग छलफल शुरु गरेका छन् । पौडेल समूहको माग र १९ गतेको केन्द्रीय समिति बैठकबारे छलफल गर्न आइतबार (आज) बैठक बोलाइए पनि केही नेताहरुमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित भएको थियो ।

यसैबीच भोलिका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आज विज्ञप्ति निकाल्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलले सो कुराबारे जानकारी दिएका हुन् ।

आजको कोरोना अपडेटः ७ जनाको मृत्यु, संक्रमित कति ?
नेपालमा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ५ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप २ हजार २ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ३ सय २९ जना डिस्चाज भएका छन् ।
आज काठमाडौं उपत्यकामा भने १५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् ।

दाङमा राजधानी राख्ने निर्णय सच्याउन नेकपा महासचिवको माग
सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश नं. ५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्ड समक्ष माग गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा महासचिव पौडेलले अध्यक्षद्वयसँग दाङमा राजधानी राख्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

कोरोनाको जोखिम बढेको भन्दै सचिवालयको बैठक स्थगित गरिएता पनि आइतबार दिउँसो बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा मुख्यमन्त्री शंकर पोखरेल, महासचिव पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत उपस्थित थिए ।

अध्यक्षद्वय ओली र दाहालकै सहमतिमा प्रदेशको राजधानी दाङको बनाइने निर्णय प्रदेश सभाले गरेको छ ।

डा. केसीको पक्षमा टिचिङ अस्पतालमा चिकित्सकहरूको धर्ना
अनशनरत डा. गोविन्द केसीको समर्थनमा टिचिङ अस्पतालका आवासीय चिकित्सकहरुले भर्ना दिएका छन् । डा. केसीको माग पूरा गर्न सरकारलाई दबाब दिन चिकित्सकहरूले अस्पताल परिसरमा धर्ना दिएका हुन् ।

धर्ना बसेका चिकित्सकहरूले ‘डा केसीको माग पूरा गर, जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्युटावर, दूरदराजमा मेडिकल शिक्षा खैलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

डा केसीले १९औं अनशन सुरु गरेको आइतबार २१ दिन पुगेको छ । उनले गत भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका थिए ।

केसीसँग वार्ताका लागि टोली गठन गर्न चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम
नेपाल चिकित्सकले संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्नका लागि टोली गठन गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ ।

संघका महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै केसीसँग वार्ता गर्नका लागि टोली गठन गर्न ७२ घण्टे अल्टिमेटम दिएका हुन् ।

७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन नगरे नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

डा केसीले १९औं अनशन सुरु गरेको आइतबार २१ दिन पुगेको छ । पछिल्लो समय केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनलाई अहिले अक्सिजन सपोर्टमा राखिएको छ ।

भक्तपुरमा बसभित्रै किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट दुई जना र सिरहा, मोरङबाट दुई जना पक्राउ परेका छन् ।

भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका घर भएका २२ वर्षीय निरकुमार खड्कासहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका ८ कालाँचास्थित रोकी राखेको बा ३ ख २६१२ नम्बरको बसमा खड्का समेत ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगतीबाट खटिएको प्रहरीले बस चालक खड्का समेत २ जनालाई पक्राउ गरेको हो ।

सर्वोच्चमा एकल इजलास मात्र सञ्चालनमा
सर्वोच्च अदालतले कोरोना भाइरसका कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ ।

केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहेका छन् ।
सर्वोच्चमा एकल, संयुक्त र बृहत् इजलास सञ्चालन हुँदै आएका थिए

सन्दीप आवद्ध ‘दिल्ली’ आइपिएलको शीर्षस्थानमा उक्लियो
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स आइपिएलको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

शनिबार राती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो । दिल्लीले रोयल च्यालेन्जर्स बेंगलोरलाई नेट रनरेटले पछि पारेको थियो ।

योसँगै दिल्ली चार खेलमा ३ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बेंगलोरले ४ खेलमा ३ मा जित र १ मा हार बेहोरेको हुने भएको छ ।

नेपालमा मोदी र नवाजले गोप्य बैठक गरेको पाकिस्तानी अधिकारीको दाबी
पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार शाहबाज गिलले पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज सर्रिफ र भारतीय प्रधानमन्त्रीबीच नेपालमा गोप्य भेट भएको दाबी गरेका छन् ।

उनले नवाज सर्रिफ भारतसँग मिलेको आरोप समेत लगाएका छन् ।

सर्रिफविरुद्ध बेलायतमा पक्राउ पुर्जी जारी गराउने ईमरान नेतृत्वको पाकिस्तान सरकारको योजनामा अहिले झट्का लागेको छ ।

बेलायतले पाकिस्तानको आन्तरिक राजनीतिसँग जोडिएका विषयमा दख्खल दिन नमिल्ने जानकारी पाकिस्तानी अधिकारीलाई गराएको छ । गिलले भारतीयहरुसँग नवाज सर्रिफको व्यापारिक सम्बन्ध रहेको दाबी गरेका छन् । उनका अनुसार केही दिनअघिमात्रै लण्डनस्थित एक देशको दूतावासमा सर्रिफले भारतीयसँग बैठक गरेका थिए ।

प्रतिक्रिया