‘यसपालिकाे दशैंमा भिडियो कलमा टिका लगाइदिनुहोला, जमरा लगाइदिनुहोला’

पूजनीय बुवाआमा, ढोग छ ।
कुशल छु, कुशलताको कामना गर्दछु ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको छ । जहाँ टेस्ट गर्यो, जसलाई टेस्ट गर्यो अधिकांशको पोजिटिभ देखिएको छ । हाम्रो सुर्के पाटोभन्दा साँघुरो छ, परीक्षणको दायरा । त्यसैले हामीलाई पनि संक्रमण भएको छ कि छैन ? थाहा छैन । कमिलाको गोलोजस्तो काठमाडौं कोरोना महामारीको केन्द्रबिन्दु बनेको छ । यो गोलोमा संक्रमण फैलियो भने के अवस्था हुन्छ, हजुरहरुलाई बिदितै छ ।
काठमाडाैंजस्तो शिक्षित, सुबिधायुक्त तथा सञ्चार साधनले भरपुर ठाउँमा कोरोना फैलिदैन भन्नुहुन्थ्यो हजुरहरुले । त्यो सत्य होइन रहेछ । यहाँका धेरै मान्छेले सहि तरिकाले मास्क लगाउँदैनन्, व्यक्तिगत दुरी कायम गर्दैनन्, भीडभाड गर्छन्, बिना कारण लखरलखर हिंड्छन् । सबैले सोच्छन–‘कोरोना मलाइ सर्दैन, मैले मास्क लगाउनु पर्दैन, मैले दुरी कायम गर्नु पर्दैन … यो त अरुले गर्नुपर्छ ।’ सरकार पनि गज्जबको छ । अनिबार्य र सहि तरिकाले मास्क लगाएको / नलगाएको सरकारलाई थाहा छैन, दुरी तथा भीडभाडको पनि मतलब छैन । अरु देशमा जस्तै अनुगमन, निगरानी र जरिवानाको ब्यबस्था गरेको भए अहिले यो स्थिति आउने थिएन ।
अरु देशमा कसरी महामारी नियन्त्रण भयो ? कसरी कडाइ गरे ? जनता कति अनुशाशित छन् ? सरकारले जनतालाई राहत र सहुलियत कसरी प्रदान गर्यो ? यी कुरा कसैले पनि बुझेन । हजुरलाई किन झुट बोल्नु, भान्सामा काम गर्नेलाई सपासप खाएको बात लागेको छ । भान्सामा बात लागेकालाई खेतबारीमा खटाए हुन्थ्यो नि !
यो दशैंमा रातिको नाइटबस चढेर घर आउने, हजुरहरुसँग मोबाइल स्विच अफ गरेर कुराकानी गर्ने, बाल्यकालमा आफु दौडिएका / पौडिएका ठाउँमा पुग्ने, साथीभाइलाइ भेट्ने, कोटहरुमा मेला हेर्ने, मान्यजनको हातबाट टिका आशिर्बाद लिने, जिब्रोको भित्रि तहमा बसेको स्वादलाई अर्गानिक खानेकुराले ब्युँताउने …. धेरै सपना थिए ।यसपटक कोरोनाले बाटो छेक्यो ।
बसमा कोरोना सर्ने खतरा मोलेर त्यहाँ आउँदा हजुरहरु, अन्य मान्यजनलाई कोरोना सार्ने काम हुन्छ कि भनेर म नआउने बिचार गरेको छु । भिडियो कलमा टिका लगाइदिनुहोला, कान थाप भन्दै जमरा लगाइदिनुहोला, आशिर्वाद सुन् भन्दै आशिर्बाद दिनुहोला । यो यो खा भन्नुहोला, हामी त्यहि खानेछौँ । इन्टरनेटले धोका दिए मोबाइल फोन छँदैछ, त्यसले टावर टिप्न सकेन भने मनमनै आशिर्बाद दिनुहोला । आज हो कि भोलि भन्ने जगजगीमा यहाँ बस्न एकदम डरमर्दो छ । १ बर्ष ढुक्क गाउँ बस्न पाए त यो कोरोनाको टेन्सन नै हुने थिएन । आफ्नो काम, घर, हजुरका नातिनातिनाका पढाइ आदिले गर्दा आगोभित्र बस्नुपर्ने बाध्यता भयो । अर्को साल पहिले खोप लगाउँला अनि दशैंको टिका लगाउँला ।
…..
खै ! म लेख्छु भन्नुभयो दाइले –
पूजनीय बुवाआमा, ढोग छ ।
म जेठो छोरो ।
बुवाआमा, भाइले लेखेको कुरामा मेरो पनि सहिछाप छ । हजुरहरुलाई थाहा छ, मलाइ प्रेसर, सुगर, कोलेस्टेरोल छ । कोरोनाले छोयो भने गाह्रो पार्ला जस्तो छ । अहिल्यै यहाँका अस्पताल भरिभराउ भए । अस्पतालमा खुट्टो राख्न नपाउने अवस्था आयो । मेरो ब्यापार पनि चलेको छैन । लकडाउन र कोरोनाको डरले गर्दा मान्छेसँग पैसा नै छैन ।
ज्यानभन्दा ठूलो केहि होइन । मेरो परिवार १ बर्ष बस्ने गरि आउछौं । केटाकेटी ठूला भए, आफ्नो मेसो गर्न सक्छन् । म र हजुरहरुकी बुहारी आउने निर्णय गर्यौं । चिन्ता नगर्नुहोला, बसमा राम्रो मास्क लगाएर, फेस शिल्ड लगाएर, हातमा पञ्जा लगाएर, स्यानिटाइजर प्रयोग गर्दै, पानी र खानेकुरा घरबाटै लिएर तथा बस रोकेको ठाउँमा अलिपर गएर खानपिन गर्दै आउनेछौं । बाहिरका असुरक्षित खाजा पसल र खाना पसलमा केहि खाने छैनौं । बसभित्र सकेको धेरै दुरी कायम गर्नेछौं । उस्तै परे प्लास्टिकले छेकेर हाम्रो सिटलाई क्याबिन बनाउनेछौं ।
घरमा आएपछि हामी छुट्टै कोठामा बस्नेछौं । हजुरहरुसँग ४ हात टाढा बसेर मास्क लगाएर गफ चुट्नेछौं । २ हप्तापछि मात्र गाउँमा डुल्नेछौँ तथा हजुरहरुसँग अगेनामा बसेर बात मार्नेछौँ । केहि लक्षण देखिएमा पालिकामा गएर टेस्ट गर्नेछौं । बिजनेस, ब्यापार, पैसो भन्ने कुरा पनि त्यस्तै रहेछ । ज्यान रहे न सबै आफ्नो हो । त्यसैले हामीले ज्यान रोजेर गाउँमा आउने भयौं । के थाहा, आधुनिक खेतीपाती, कुखुरा तथा बाख्रापालन गरेर त्यहिँ पो मालामाल हुन्छ कि ? त्यसो भयो भने यो कमिलाको गोलोमा फर्किने बिचार छैन ।
…..
मलाइ ले त ! अब दिदीको पालो –
पूजनीय बुवाआमा, दर्शन ।
कोरभन्दा कोरोना खतरा रहेछ । यो खाल्डेा काठमाडौमा जेनतेन ज्यान पालेका थियौं । भाडा, लोन र स्टाफ खर्चले हामी पुरै डुबेका छौं । धेरै घाटा लाग्यो । एक दुईबर्ष यस्तै हुन्छ । हामीले मिल्ने कुरा बेचबिखन गर्दैछौं । हजुरका ज्वाईंले तराइको आफ्नै घरमा बस्ने, ब्यापार गर्ने र केटाकेटीलाई उतै पढाउने ब्यबस्था गर्दै हुनुहुन्छ । ट्रक भाडामा लिएर खेतखेतका तरकारी, फलफुल, अण्डा, दुध आदि सहरमा पुर्याएर बेच्ने काम गर्ने रे !
१५ बर्ष काठमाडौ बस्यौं, सधैंको धुलो, धुँवा, पानीको अभाव, ट्राफिक जाम र अस्तव्यस्त देखेर वाक्क लागेको थियो । अब आफ्नै ठाउँमा बस्ने, शुद्ध हावा, पानी, खाना खाने निर्णय गर्यौं । दशैँ तराइमा मनाउछौं, तिहारमा त्यहाँ आउनेछु । तिहार पनि मास्क लगाएर, दुरी कायम गरेर तथा सरसफाईको ख्याल गरेर मनाउने छौं । केटाकेटीले देउसीभैलो खेल्ने छैनन् । उहाँले यसपटकको छठमा पनि यस्तै सुरक्षा सतर्कता अपनाएर मात्र मनाउने योजना गर्नुभएको छ । सहरबाट आएका मान्छेसँग जोगिएर बस्नुहोला । कोरोना छ कि छैन भनेर निधारमा लेखेको हुँदैन ।
…..
बहिनीले पनि लेख्ने रे !
पूजनीय बुवाआमा, दर्शन ।
कोठामा बस्दा बस्दा वाक्क लाग्यो । बाहिर निस्किन डर लाग्छ । नाकमुनी, च्युँडोमा तथा घाँटीमा मास्क लगाएर हिंड्छन्, यताका मान्छे । व्यक्तिगत दुरीको मतलब छैन । तरकारी बजारमा बसेर एउटा एउटा छाम्दै गोलभेंडा किन्दै गर्छन् । जहाँ गयो, त्यहि भीड छ । न जनतालाई मतलब छ, न सरकारलाई । हाम्रो टोलमा धेरैलाई कोरोना लागिसक्यो । यति मात्र हो र ? कोरोना लागेका मान्छे २ हप्ता कोठाभित्र अनिबार्य बस्नुपर्नेमा पसल जाने, मर्निंङ्ग वाक गर्ने, दोकानमा बसेर सामान बेच्ने, रोग लुकाउने, सार्वजनिक यातायातमा चढ्ने .. बेथिति छ । कसैलाई कसैको डर छैन । सरकारले हरेक ठाउँमा कडाइ गर्ने, सुरक्षाकर्मीको गस्ती खटाउने, जरिवाना गर्ने .. काम गरेको छैन । हाम्रो टोलमा सुरक्षाकर्मी नदेखेको २ महिना भयो । यस्तो तालले कोरोना नियन्त्रण हुँदैन ।
नेताहरुको पनि के दोष ? पदको लागि झगडा गर्ने, जे कुरामा पनि राजनीति गर्ने, मौका पाए कप्ल्याक्क खाने अनि चुनावको बेला जनतासँग जाने उनीहरुको नानीदेखि लागेको बानी हो । अब आफ्नो ज्यान आफै बचाऊ को नारा लगाउँदै गाउँ आउनुको बिकल्प छैन । ठूलो दादासँग म पनि आउँछु । अनलाइन क्लास गाउँमा बसेर लिनु र यहाँबाट लिनु उस्तै हो । रोग लाग्यो भने गाउँमा बरु उपचार पाइएला, यहाँ त चान्सै छैन ।
खसी, लोकल कुखुरा, अम्बा, काँक्रा, सुन्तला, कागती, अमिलो, सख्खरखण्ड खान छोडेर बिषादी खाना खान किन यहाँ बस्नु ? यहाँ तरकारीको भाउ सुन्यो भने हार्ट एट्याक हुन बेर छैन । यहाँ कालाबजारीलाई दशैँ आएको छ, जनतालाई दशा ।
कोरोना नियन्त्रणमा आएपछि वा खोप आएपछि काठमाडौ फर्किनुपर्ला । फुलैफुलको बगैचा छोडेर यो आगाको मुस्लोभित्र किन बस्नु ?
….
अब मेरो पालो –
घटीमा ४-६ महिना बस्ने गरि गाउँ जाँदा राम्रो हुन्छ । म जस्तो टिका लगाएर फर्किनुपर्नेलाई जोखिम किन लिने ? जो जहाँ छ, त्यहिँ बस्दा राम्रो । हाम्रो चिन्ता नलिनुहोला, हामी घरभित्र बस्छौं । दशैंलाई पुग्ने सामान एकैपटक किनेर राख्छौं । बाहिर निस्किनुपरे म मात्र मास्क सहि तरिकाले लगाएर, दुरी कायम गरेर निस्किन्छु । सरसफाईमा एकदम ध्यान दिएका छौं । यो पटक सपिङ्ग गर्न जाँदा जोखिम हुने भएकोले मैले केहि पठाउन असमर्थ भएँ । आबश्यक कुरा उतै किन्नुहोला ।
१००० वटा कपडाका ३ पत्रे मास्क, १००० वटा साबुन र १००० वटा ह्याण्ड स्यानिटाइजर दाइसँग पठाउनेछु । दशैंमा टिका लगाइदिएर परिवार संख्या अनुसार प्रसादको रुपमा ती सामान दिनुहोला । चिया, खाजा वा खानाको प्रसाद अर्कोसालदेखि निरन्तर गरौंला । यसपटक निधारमा अक्षता लगाउँदा संक्रमण सर्ने डर हुन्छ । तसर्थ मास्क लगाएर, ६ फिटको दुरी कायम गरेर टिका, जमरा हातमा दिनुहोला । मेलामा नजानुहोला ।
……..
अन्त्यमा छोरीको पालो –
हजुरबुवा, हजुरआमा, दर्शन ।
यहाँ एकदम ठिक छ तर कोरोनाको डर छ । कोठामै बस्नुपर्छ । यहाँ सबै ठिक छ तर स्कुलका साथीलाई भेट्न पाएको छैन । यहाँ एकदम ठिक छ तर अनलाइन क्लास पढ्दा वाक्क लाग्यो । यहाँ एकदम राम्रो छ तर मास्क लगाउन नजान्ने मान्छे धेरै छन् । यहाँ एकदम ठिक छ हेर्नु न ६ फिटको नजिक जान्छन् मान्छेहरु । अरु सबै राम्रो छ, कोरोनाको डर छ । यहाँ सबै ठिक छ, पिज्जा खान रेस्टुरेन्ट जान हुँदैन रे !
गाउँमा त कस्तो रमाइलो हुन्छ । लकडाउन हुँदैन । खेल्ने ठाउँ धेरै छ, खानेकुरा धेरै छन्, भैंसी र मुनेमुने छन् । पिङ खेल्न पाइन्छ । टिका लगाएपछि पैसा पाइन्छ । गाउँको आकासमा जुन हुन्छ, ताराहरुको नाम हुन्छ । बाबा मामुले मानिस्यो भने म र भाइ आउने हो ।
छ नि हजुरबुवा ! एउटा ६ फिटको लठ्ठी बनाएर त्यसको टुप्पोमा टिका, जमरा राखेर टिका लगाइदिनुहोला । दक्षिणा र खानेकुरा पनि त्यहि लठ्ठीमा झुन्डाएर दिनुहोला । हजुरलाई ढोग्ने बेला लठ्ठीको एउटा टुप्पो हजुरको खुट्टामा र अर्को टुप्पो ढोग्ने मान्छेको निधारमा राख्नुहोला ।
हजुरलाई दिनदिनै सम्झिने
नातिनी
प्रतिक्रिया