आइएमई पे एप १ मिलियन क्लबमा, मोबाइल उपहारको अफर

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेपछि कम्पनीले साे अवसरमा माेबाइल उपहारकाे अफर गर्ने भएकाे छ ।
डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस (1+) मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत् उपहार स्वरूप प्रदान गरिनेछ । यो योजना आजैबाट शुरु भएकाे र अक्टोबर १५ सम्म कायम रहने बताइएकाे छ ।
विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीति अनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको छ । कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकाल बताउँछन् ।
आम सेग्राहीहरूको विश्वास, आवद्ध व्यवसायिक साझेदारहरूको प्रयास र कर्मचारीहरूको लगनशीलता यो पहुँच विस्तारको मूख्य कारण रहेकाले यसको सम्पूर्ण श्रेय वहाँहरूलाई नै जाने ढकालले बताए ।
पछिल्लो समयमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण सामाजिक दूरी कायम गर्नुपर्ने जस्ता सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिटेन्स लगायतका थुप्रै सेवा सेवाग्राहीहरूको पहुँचमा पुर्याउन र एप मार्फत् सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्नका लागि ‘आइएमई पे’ ले आक्रामक रूपमा बजार विस्तार गर्दै आइरहेको छ ।








