वीपीका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि उपकुलपति र शिक्षाध्यक्षको कार्यालय सिल

धरान । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान उपकुलपति कार्यालय र शिक्षाध्यक्ष कार्यालय सिल गरिएको छ ।

कार्यालयका फोरम्यानलाई कोरोना संक्रमण पुष्टि भएपछि उपकुलपतिको कार्यालयलाई अर्को सूचना जारी नभएसम्मको लागि सिल गरिएको प्रतिष्ठानले जनाएको छ ।

उपकुलपति कार्यालयसँगै रहेको शिक्षाध्यक्ष डा. गुरु खनालको कार्यालय पनि सिल गरीएको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यालयका फोरम्यानको शुक्रबार रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई केहीदेखि हल्का जीउ दुख्ने र खोकी लाग्ने समस्या देखिएको थियो । उनले बिहिबार स्वाब दिएका थिए । शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

संक्रमित कर्मचारीलाई शुक्रबार नै प्रतिष्ठानको आइसोलेसन पठाइएको छ । रेक्टर र उपकुलपतिको कार्यालयमा कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरीने उपकुलपतिका सल्लाहकार दिलिप भट्टराईले जानकारी गराए ।

सिल अवधिमा प्रतिष्ठानका उपकुलपति र रेक्टर क्वारेन्टिनमा बसी आफ्नो निवासबाट नै नियमित कार्य गर्ने सल्लाहकार भट्टराईले बताए । यस अघि प्रतिष्ठानका उपकुलपति डा. गिरी कोरोना पोजेटिभ भएर सेल्फ आइसोलेसनमा बसी कोरोना मुक्त भएर प्रतिष्ठान फर्किएका थिए ।

प्रतिक्रिया