प्रदेश ५ राजधानी विवाद : ताैलिहवामा रिले अनशन, कपिलवस्तुलाई राजधानी बनाउन माग

काठमाडाैं । प्रदेश ५ काे राजधानी दाङकाे भालुवाङ बनाउने प्रस्ताव भएसँगै विवाद सुरू भएकाे छ ।

प्रदेश ५, सत्तारूढ नेकपाले यसकाे समर्थन जनाएकाे छ भने प्रतिपक्षी कांग्रेस लगायतका दलले बुटवललाई राजधानी बनाउनुपर्ने माग गर्दै विराेध जनाएका छन् । यसैबिच कपिलवस्तुलाई राजधानी बनाउनु पर्ने भन्दै सदरमुकाम तौलिहवाको जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनशन सुरू गरिएकाे छ ।

बुद्धकालीन महत्व बोकेको सिद्धार्थ गौतमका बाबु शुद्धोधनको ऐतिहासिक राजधानी रहेको स्थान कपिलवस्तुलाई राजधानी बनाउनु पर्ने माग राख्दै त्यहाँका स्थानीय तथा समाजसेवी रउफ अहमद खा, सुदीप पौडेल, अशोक कुमार गुप्ता लगायत रिले अनशनमा बसेका हुन् । प्रदेशको नाम ‘बुद्ध प्रदेश’ र राजधानी कपिलवस्तु हुनुपर्ने उनीहरूकाे माग छ ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले शुक्रबार दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने र प्रदेशकाे नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए ।

अहिले यसैकाे विवाद प्रदेशमा चर्किएकाे छ । शुक्रबार  र शनिबार प्रदर्शन भएपछि बुटवलमा अहिले निषेधाज्ञा लगाइएकाे छ । प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्कन थालेपछि प्रशासनले निषेधाज्ञाको घोषणा गरेको हाे । स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा लगाएको हो ।

शनिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना निकालेर आउँदो २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो । निषेधित क्षेत्रमा भीडभाड, सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन रोक लगाइएको छ । त्यस्तै, पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएर हिँडडुल गर्न पाइने छैन ।

प्रतिक्रिया