प्रदेश ५ राजधानी विवाद : प्रस्तावलाई पास गर्ने नेकपा संसदीय दलको निर्णय, कांग्रेस आन्दोलनमा

काठमाडौं । प्रदेश ५, नेकपा संसदीय दलले भालुवाङलाई राजधानी बनाउने प्रस्तावलाई पास गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान ८ बजेदेखि १ बजेसम्म मुख्यमन्त्री निवासमा बसेको बैठकले प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पेश गरेकाे प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पास गर्ने निर्णय गरेकाे हाे ।

सरकारको सोही प्रस्तावको पक्षमा मतदान गर्न शनिबार ५ घण्टा लामो बैठक बसेको थियाे । बैठकले प्रदेशसभामा निर्वाचित नेकपाका सबै सदस्यहरूलाई प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न पार्टी र सरकारले गरेको प्रस्तावमा मतदान गर्न निर्देशन समेत दिएकाे बताइएकाे छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले शुक्रबार दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए ।

साे प्रस्ताव विरूद्ध रूपन्देही, कांग्रेसले भने बुटवलमा भोलि (आइतबार) बृहत् प्रदर्शन गर्ने निर्णय गरेकाे छ । १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय भएकाे कांग्रेस रूपन्देहीले जनाएकाे छ । बुटवललाई नै स्थायी राजधानी ताेक्नुपर्ने कांग्रेसकाे माग छ ।

प्रतिक्रिया