राप्ती नगरपालिकाका कुकुरलाई रेबिजविरुद्धको खोप

चितवन । चितवनको राप्ती नगरपालिकामा शनिबारदेखि कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

राप्ती नगरपालिका पशु स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ८ बाट कुकुरहरुलाइ खोप लगाउन सुरु गरिएको हो ।

पहिलो दिन सो वडामा रहेका १३ वटा घरपालुवा र १ वटा सामुदायिक कुकुरलाइ रेबिज विरुद्धको खोप लगाइएको पशु स्वास्थ्य शाखा प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए । खोप लगाउने कार्यक्रम नगरको सबै वडामा पुराउने लक्ष्य रहेको भण्डारीले बताए । उनका अनुसार ९५ प्रतिशत कुकुरको टोकाइबाट रेबिज लाग्छ ।

यो बर्ष राप्तिमा तीन वटा गाईमा कुकुरको टोकाइबाट रेबिज लागिसकेको छ । राप्ती ६ र ९ मा गाइमा रेबिज देखिएको हो । जनचेतनासँगै यसको प्रभाव न्यूनिकरणका लागि प्रत्येक वर्ष रेबिज विरुद्धको खोप लगाइँदै आएको छ । सरकारले २०३० सम्म मुलुकमा रेबिजको टोकाइबाट हुने मृत्यु शुन्य बनाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया